गृहपृष्ठ हुम्लामा ७३ हजार क्विन्टल चामल माग
हुम्लामा ७३ हजार क्विन्टल चामल माग
आगामी आर्थिक वर्षका लागि खाद्य व्यवस्थापन समिति हुम्लाले ७३ हजार क्विन्टल चामल माग गर्ने भएको छ । यसका साथै संघीय संरचरनाअनुसार डिपो र बिक्री केन्द्र पनि विस्तारका लागि माग गरेको छ ।
आव ०७७/७८ का लागि शाखा कार्यालय सिमकोट, डिपो केन्द्र श्रीनगर र सर्केगाड बिक्री केन्द्र याल्वाङ, याँचु, देउली र छप्रेलाका लागि हाल उपलब्ध कोटाभन्दा धेरै मात्रामा माग गरिएको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय हुम्लाका कार्यालय प्रमुख रामबहादुर बिष्टले जानकारी दिए ।
शाखा कार्यालय सिमकोटका लागि ३५ हजार क्विन्टल चामल माग गरिने भएको छ । डिपोहरू श्रीनगरका लागि ६ हजार र सर्केगाडका लागि ८ हजार गरी दुई डिपोका लागि १४ हजार क्विन्टल चामल माग गरिने भएको छ । यसैगरी बिक्री केन्द्रहरू छप्रेलाका लागि ६ हजार, देउलीका लागि ६ हजार, याँचुका लागि ६ हजार र याल्वाङका लागि ६ हजार गरी चार बिक्री केन्द्रमा २४ हजार क्विन्टल चामलको माग गरिने भएको छ ।
चालू आवका लागि माग गरिएको चामल गत वर्षभन्दा दोब्बर हो । चालू आव ०७६/७७ मा ३१ हजार क्विन्टलभन्दा धेरै चामल हुम्लामा पुगेको थियो ।
प्रकाशित समय १९:१५ बजे

















