गृहपृष्ठ कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो
कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्यो
कर्णालीमा कोरोनाभाइरस (कोभिड- १९) बाट संक्रमित हुनेको संख्या दुई हजार नाघेको छ । सोमबार सुर्खेत र दैलेखमा गरिएको आरटी-पीसीआर परीक्षणमा थप २४ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या दुई हजार तीन पुगेको हो ।
प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणमा ६ जना र जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा १७ जना संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश स्वास्थ्य महाशाखाले जानकारी दिएको छ । मन्त्रालयका अनुसार सुर्खेतको वीरेन्द्रनगर १२ का ५३ वर्षीय पुरुष, सल्यानको वनगाड कुपिण्डे नगरपालिकाका २४ र ३२ वर्षीय महिला, त्यस्तै सोही नगरपालिकाका १३ वर्षीय बालक, २०, २५ र २४ वर्षीय पुरुषमा समेत कोरोनाभाइरस देखिएको हो ।
त्यस्तै दैलेखको भैरवी गाउँपालिकाका १४ वर्षीय बालक, २६ र ३२ वर्षीय पुरुष, त्यस्तै नारायण नगरपालिकाका २२, २६, २९ र ४४ वर्षीय महिला तथा सोही नगरपालिकाका २८, २४, १८, २४, २६, ३३, ३४, ३५, ४३ र ३९ वर्षीय पुरुषमा समेत कोरोनाभाइरस (कोभिड- १९) को संक्रमण भेटिएको महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
कर्णाली प्रदेशभर गत २४ घण्टामा भने कोही पनि कोरोनाका बिरामी निको नभएको तिवारीले बताए । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या भने १ हजार ८ सय ८० रहेको छ । सोमबारसम्म प्रदेशभर सक्रिय संक्रमित भने १ सय १७ रहेका छन् ।
प्रकाशित समय १७:१९ बजे
















