गृहपृष्ठ आईपीओमा अब कम्तीमा ५० कित्ता आवेदन दिनुपर्ने
आईपीओमा अब कम्तीमा ५० कित्ता आवेदन दिनुपर्ने
सर्वसाधारणले प्राथमिक बजारमा धितोपत्र (आईपीओ/एफपीओ) खरिदका लागि अब कम्तीमा ५० कित्ता सेयरका लागि मात्र आवेदन दिन पाउने भएका छन् । यससँगै आवेदकले कम्तीमा पनि ५० कित्ता सेयर पाउनेछन् । यसअघि न्यूनतम १० कित्ताको लागि आवेदन दिन पाइने व्यवस्था थियो ।
नेपाल धितोपत्र बोर्डको साउन २२ गते बसेको बैठकले ‘बुक बिल्डिङ निर्देशिका २०७७’ लागू गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशिकामा संगठित संस्थाले मर्चेन्ट बैंकरको परामर्शमा धितोपत्रको अनुमानित मूल्य तथा मूल्यांकनको आधार र औचित्यसमेत खुलाइएको प्रारम्भिक विवरणपत्र तयार गरी योग्य संस्थागत लगानीकर्तासँग छलफल कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ । त्यसका लागि कम्तीमा १० योग्य संस्थागत लगानीकर्तासँग छलफल गरी चयन गर्नुपर्नेछ ।
संगठित संस्थाले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आसय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी प्रतिकित्ता मूल्य सीमा निर्धारण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक हुने बोर्डको विश्वास छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले नयाँ व्यवस्थाले निष्कासनकर्ता कम्पनीले धितोपत्रको उचित मूल्य पाउने र यसबाट वास्तविक क्षेत्रका कम्पनी बजार प्रवेशमा प्रोत्साहित हुने बताए ।
प्रकाशित समय २१:०५ बजे

















