गृहपृष्ठ नेकपा सचिवालय बैठक भोलि बस्दै, मन्त्रिमण्डल पुनर्गठनको चर्चा
नेकपा सचिवालय बैठक भोलि बस्दै, मन्त्रिमण्डल पुनर्गठनको चर्चा
फाइल तस्बिर ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार बस्ने तय भएको छ । पार्टी भित्रको आन्तरिक विवाद केही मथ्थर भइरहेका बेला सोमबार बिहान साढे ९ बजे बस्नेगरी सचिवालय बैठक बोलाइएको नेकपा स्रोतले बताएको छ ।
बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठन गरेको कार्यदल, मन्त्रिमण्डल पुनर्गठन, पार्टीको महाधिवेशन र अहिलेसम्मका विवादका विषयमा छलफल हुने एक सचिवालय सदस्यले जानकारी दिए ।
कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने बालुवाटारको तयारीपछि सो पार्टीका नेता-कार्यकर्तामाझ मन्त्रिमण्डल पुनगर्ठनको चर्चा चल्न थालेको हो । कार्यदललाई पार्टीमा देखिएका आन्तरिक समस्या सम्बोधन गर्ने तथा पार्टी एकता अक्षुण राख्नेगरी प्रस्ताव तयार गर्न भनिएको छ ।
अध्यक्षद्वयले पार्टीभित्रको विवाद समाधानको उपाय सुझाउनका लागि शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलको वैधानिकताप्रति वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रश्न उठाएपछि त्यसलाई सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको हो ।
प्रकाशित समय १४:४० बजे

















