गृहपृष्ठ सेयर बजारमा अधिक तरलताको प्रभाव किन परेन ?

सेयर बजारमा अधिक तरलताको प्रभाव किन परेन ?

नेप्से १० अंकले बढ्यो, १ अर्बको कारोबार

सेयर बजार परिसूचक नेप्से सोमबार १० अंकले बढेको छ । नेप्सेमा सूचीकृत जलविद्युतबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक १०.७५ अंकले बढेर १४०२.२१ अंकमा पुगेको छ ।

सोमबार १८४ कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता सेयर १ अर्ब ७ करोड ४९ लाख रूपैयाँमा किनबेच भएको हो । सोमबार सर्वाधिक निर्जीवन इन्स्योरेन्स कम्पनी समूहको सेयर मूल्य २.४६ प्रतिशतले बढेको छ ।

आज साधना लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । घलेम्दी हाइड्रो, जोशी हाइड्रोलगायतको सेयर मूल्य केही बढेको छ । सोमबार सर्वाधिक नेपाल बैंकको ७ करोड ८० लाख, नेपाल रिइन्स्योरेन्स कम्पनीको ६ करोड ५८ लाख, नेको इन्स्योरेन्सको ५ करोड ७६ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ५४ लाख रूपैयाँको कारोबार भएको छ ।

अधिक तरलताको प्रभाव किन परेन ?

लकडाउनका कारण लगानीका ठाउँ नपाउँदा नेपालको बैँकिङ क्षेत्रमा २ खर्ब २ अर्ब रूपैयाँभन्दा अधिक लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ । तरलता थुप्रिँदा बैंकको ब्याजदर लगातार घटिरहेको छ । यद्यपि, सेयर बजारमा भने त्यसको प्रभाव परेको छैन ।

बैंकहरूमा निक्षेप थुप्रिँदै गए पनि कोरोनाका कारण लगानीका क्षेत्रमा पुँजी परिचालन गर्न सम्भव छैन । यस्तो अवस्थामा बढी प्रतिफल हुने आशामा सेयर बजारमा पैसा जाने भए पनि लगानीकर्ता बजारप्रति विश्वस्त हुन सकेका छैनन् ।

बैंकहरूले बचतमा दिने औसत ब्याजदर ४ प्रतिशतभन्दा कम छ भने मुद्दति निक्षेपमा भने औसत ७ देखि ८ प्रतिशतका हाराहारी ब्याज दिइरहेका छन् । राष्ट्र बैंकका अनुसार समग्र ब्याजदर ६ प्रतिशतको सीमामा छ ।    कर्जामा ब्याजदर पनि १० प्रतिशतभन्दा कम छ । सामान्यतः १० प्रतिशतभन्दा कम ब्याजदरको पैसा लिएर लगानीकर्ताले सेयरबजारबाट १२ प्रतिशतभन्दा माथिको लाभ लिनसक्ने भएकाले जोखिम नहुने विश्लेषकहरू बताउँछन् ।

यद्यपि, अधिक तरलताको प्रत्यक्ष प्रभाव सेयर बजारमा नपर्नुको मूल कारण भने कोरोना महामारी नै भएको उनीहरूको तर्क छ । बाहिर निस्किन निकै जोखिम भएकाले बजारमा प्रभाव पर्न सकेको छैन । दोस्रो बजारमा प्रवेश गरेका र केवाईसी अपडेट गराएका २ लाख ९४ हजार लगानीकर्तामध्ये ३२ हजारले मात्र अनलाइन कारोबारका लागि धितोपत्र दलालबाट युजर नेम र पासवर्ड लिएका छन् । पूर्ण अनलाइन हुने हो भने त्यो संख्या निकै ठूलो हो । तर, सेयर बजारमा अझै पनि पूर्ण कारोबार प्रणालीबाट किनबेच हुन नसकेकाले सुरुमा बजारमा लकडाउनको असर पर्‍यो । ‘अहिले कोरोनाको त्रास झन् बढ्दै गएकाले लगानीकर्ताले आफूसँग भएको सबै पैसा पनि सेयर बजारमा हालेका छैनन्,’ एक लगानीकर्ताले भने, ‘यस्तो समयमा ऋण लिएर के बजार प्रवेश गर्न सकिन्छ र !’

प्रकाशित समय १७:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु