गृहपृष्ठ प्राथमिकतामा नपरेका पाम आयल र भटमासको तेलको निर्यात कुल निर्यातको ३२ प्रतिशत

प्राथमिकतामा नपरेका पाम आयल र भटमासको तेलको निर्यात कुल निर्यातको ३२ प्रतिशत

राष्ट्रिय प्राथमिकताप्राप्त वस्तुको निर्यात भने घट्दो

सरकारले आन्तरिक उत्पादनलाई विशेष निर्यात प्राथमिकतामा राख्दै नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) बनाए पनि प्राथमिकताका वस्तुकै निर्यात लगातार ओरालो लागेको छ । सरकारले प्राथमिकता प्राप्त वस्तुको सूची परिमार्जन गरी कृषि, औद्योगिक उत्पादन र सेवा क्षेत्रका १२ वस्तुलाई सन् २०१६ मा एनटिआइएसअन्तर्गत राखे पनि तिनै वस्तुको निर्यात लगातार खुम्चिँदै गएको हो ।

आर्थिक वर्ष २०७५/७६ मा एनटिआइएस सूचीमा रहेका वस्तु ३७ अर्ब १ करोड ८७ लाख रुपैयाँबराबरको निर्यात भएकोमा गत आर्थिक वर्ष २०७६/७७ मा ३० अर्ब ११ करोड ५५ लाख रुपैयाँबराबरको मात्र निर्यात भएको हो । व्यापार तथा निकासी प्रवर्धन केन्द्रको तथ्यांकअनुसार यो १८.६५ प्रतिशत कम हो । त्यस्तै आर्थिक वर्ष २०७४/७५ मा ३६ अर्ब २६ करोड ९६ लाख रुपैयाँको निर्यात भएको तथ्यांकले देखाउँछ ।

सन् २०१० को एकीकृत व्यापार रणनीति सफल नभएपछि सरकारले २०१६ (२०७३ असोज) मा ‘एनटिआइएस’ बनाएको हो । अलैंची, अदुवा, औषधीजन्य जडिबुटीलगायतका वस्तुलाई राष्ट्रिय प्राथमिकतामा राखेर व्यापार एकीकृत रणनीति परिमार्जन गरिएको थियो । वाणिज्य मन्त्रालयले उद्योगी, व्यवसायी र दातृ निकायका प्रतिनिधिसमेतलाई बोलाएर नेपाल व्यापार एकीकृत रणनीतिको परिमार्जन स्वरुप सर्वजनिक गरे पनि निर्यातमा भने कुनै उत्साह देखिएको छैन ।

रणनीतिअन्तर्गत कृषितर्फ अलैंची, अदुवा, चिया, औषधिजन्य जडिबुटी र सुगन्धित तेललाई राखिएको छ । त्यस्तै औद्योगिक उत्पादनतर्फ कपडा, छाला, जुत्ता, गलैंचा, पस्मिना र सेवातर्फ दक्ष र अर्धदक्ष जनशक्ति, सूचना प्रविधि र पर्यटनलाई राखिएको छ । यसमध्ये कृषि र औद्योगिक उत्पादन निर्यात लगातार घटिरहेको छ ।

नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले २०७६ माघमा गरेको ‘नेपालको वैदेशिक व्यापार प्रवृत्ति’ संक्षिप्त व्यापार प्रतिवेदनमा भने नगद अनुदानसम्बन्धी व्यवस्था कार्यान्वयनमा आएपछि अनुदान प्राप्त गर्ने वस्तुहरु जस्तैः जडीबुटी, अलैंची, चिया, ऊनी गलैंचा, पस्मिना, जुट र जुटका सामान, तयारी पोसाक आदिले निर्यातमा सकारात्मक योगदान पुर्‍याएको गलत तथ्य प्रस्तुत गरिएको छ ।

सरकारले राष्ट्रिय प्राथमिकताका वस्तुको निर्यात बढाउन नगद अनुदानको व्यवस्था पनि गरेको छ । तर, त्यसले पनि उद्योग व्यवसायीलाई प्रोत्साहित गर्न सकेको छैन । सरकारले जति सजिलै रणनीति बनायो, निर्यात बढाउन त्यति सजिलो नहुने व्यापार विज्ञहरू बताउँछन् ।

कति घट्यो ?

एनटिआइएसमा समावेश वस्तुमध्ये सबैभन्दा बढी छाला निर्यात घटेको छ । अघिल्लो वर्ष ४९ करोड ४५ लाख रुपैयाँबराबरको छाला निर्यात भएकोमा गत वर्ष १६ करोड ४९ लाखको मात्र निर्यात भएको छ, जुन अघिल्लो वर्षभन्दा ६६.६५ प्रतिशत कम हो ।

कृषि उत्पादनतर्फ अघिल्लो वर्षको तुलनामा गत वर्ष अलैंची ६.१९ प्रतिशत (४ अर्ब २८ करोड ४१ लाख‑४ अर्ब १ करोड ९२ लाख), अदुवा १४.९४ प्रतिशत (५१ करोड २२ लाख‑४३ करोड ५७ लाख) र चिया १३.१४ प्रतिशत (३ अर्ब २० करोड ३९ लाख‑२ अर्ब ७८ करोड २८ लाख) ले घटेको छ । औषधिजन्य जडीबुटी र सुगन्धित तेलको निर्यात भने ५.३१ प्रतिशत (१ अर्ब ४३ करोड ९८ लाख‑१ अर्ब ५१ करोड ६३ लाख) ले बढेको छ ।

त्यस्तै, औद्योगिकतर्फ अघिल्लो वर्षको तुलनामा गत वर्ष कपडा तथा धागो निर्यात २५.९ प्रतिशत (१६ अर्ब २० करोड ७२ लाख‑१२ अर्ब ९२ लाख), जुत्ता १६.७२ प्रतिशत (९० करोड ५३ लाख‑७५ करोड ३९ लाख), पस्मिना ९ प्रतिशत (२ अर्ब ५१ करोड ४२ लाख‑२ अर्ब २६ करोड ७९ लाख) र गलैंचा १७.३२ प्रतिशत (७ अर्ब ४५ करोड ७१ लाख‑६ अर्ब १६ करोड ५३ लाख)ले घटेको छ ।

पाम आयल र भटमासको तेलको व्यापार स्थिति

सरकारको प्राथमिकतामा नपरेको र नेपालमा उत्पादन नै नहुने पाम आयल र कम मात्रामा उत्पादन हुने भटमासको तेलको निर्यात स्थिति भने उदेकलाग्दो छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा गत वर्ष पाम आयल ७७.३ प्रतिशत र भटमासको तेल ४४०.९ प्रतिशतले निर्यात बढेको छ । जबकि, आर्थिक वर्ष २०७४/७५ सम्म नेपालबाट पाम आयात निर्यात शून्यबराबर थियो भने सो वर्ष नेपालमा ४ अर्ब ७१ करोड २२ लाख रुपैयाँबराबरको कच्चा पाम आयल आयात भएको थियो । त्यस्तै २०७५/७६ मा ११ अर्ब ८६ करोड १८ लाख रुपैयाँको कच्चा पाम आयल आयात भएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा पहिलोपटक १० अर्ब ३३ करोड ३० लाखको पाम आयल निर्यात भएकोमा २०७६/७७ मा १८ अर्ब ३१ करोड ७९ लाखको पाम आयत निर्यात भएको छ । त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा जम्मा २ अर्ब ३४ करोड ६३ लाख रुपैयाँको भटमासको तेल निर्यात भएकोमा गत वर्ष १२ अर्ब ६९ करोड ११ लाखको भटमासको तेल निर्यात भएको छ ।

कुल निर्यातमा पाम आयल  र भटमासको तेलको हिस्सा

विदेशबाट आयात गरी प्याकेजिङ गरेर विदेशतिरै पठाइने पाम आयल र भटमासको तेलको निर्यातले एक वर्षमै नेपालको कुल निर्यातमा ठूलो हिस्सा ओगटेको छ । आर्थिक वर्ष २०७५/७६ मा भटमासको तेलको निर्यात कुल निर्यातको २.४२ र पाम आयलको १०.६४ प्रतिशत हिस्सा रहेकोमा गत वर्ष यी दुई वस्तुले कुल निर्यातको ३१.७४ प्रतिशत हिस्सा ओगटेका छन् । भटमासको तेलले १२.९९ र पाम आयलले १८.७५ प्रतिशत हिस्सा ओगटेका हुन् । गत वर्ष १७ अर्ब ९९ करोड ११ लाखको कच्चा पाम आयल आयात भएकोमा प्रशोधन र प्याकेजिङ गरी १८ अर्ब १३ करोड ७९ लाखको निर्यात भएको छ ।

कच्चा पदार्थको उपलब्धता, बजारको सम्भाव्यतालगायतका आधारमा एनटिआइएस तय गरिए पनि कमजोर आर्थिक कूटनीति र कृषि उत्पादनमा कृषकलाई आकर्षित गर्न नसक्दा सरकारको परिमार्जित रणनीति पनि असफल बन्दै गएको व्यापार विज्ञहरू बताउँछन् ।

प्रकाशित समय १८:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु