गृहपृष्ठ घर‑घर पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्दा ३० लाख बच्यो

घर‑घर पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्दा ३० लाख बच्यो

हुम्लाको खार्पुनाथ गाउँपालिकाले घर‑घर पुगेर सामाजिक सुरक्षा भत्ता बाँड्दा ३० लाख बचत भएको जनाएको छ । देशका विभिन्न स्थानीय तहमा सामाजिक सुरक्षा भत्ता वितरणका क्रममा अनियमितता भएको जानकारी आइरहेका बेला गाउँपालिकाले आर्थिक वर्ष २०७६/७७ को अन्तिम चौमासिकमा घर‑घर गएर भत्ता बाँड्दा ३० लाख बचत भएको हो ।

सामाजिक सुरक्षा भत्ताका बारेमा विभिन्न नकारात्मक टिप्पणी भइरहेका बेला गाउँपालिकाले घरदैलो अभियान सञ्चालन गरेको अध्यक्ष कर्ण रावलले जानकारी दिए । मृत्यु भएर पनि मृत्यु दर्ता नगरेका, पाँच वर्ष पार गरिसकेका बालबालिकालगायतको लगत कट्टी गर्दा ३० लाख रकम बचत भएको उनले बताए ।

वास्तविक सामाजिक सुरक्षा भत्ता पाउनेहरूको पहिचान गर्न घरदैलो अभियान सञ्चालन गरिएको गाउँपालिकाका प्रवक्ता भीमराज शाहीले जानकारी दिए । उनका अनुसार एउटा वडाबाट करिब ६ लाख रुपैयाँ रकम बचेको छ ।

स्थलगत अभियानले हुम्लालगायत अन्य जिल्ला र स्थानीय तहमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयले बताएका छन् ।

प्रकाशित समय १७:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु