गृहपृष्ठ नेप्से ६० अंकले बढ्दा एक सातामा ८४ अर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति

नेप्से ६० अंकले बढ्दा एक सातामा ८४ अर्ब बढ्यो लगानीकर्ताको सम्पत्ति

सेयर लगानीकर्ताको सम्पत्ति एकै सातामा करिब ८४ अर्बले बढेको छ । आइतबार कारोबार खुल्नुअघि १८ खर्ब ४४ अर्ब रहेको कुल बजार पुँजीकरण साताको बिहीबार अन्तिम दिन बजार बन्द हुँदा १९ खर्ब २८ अर्ब रुपैयाँमा भएको छ । लगानीकर्ताको सम्पत्ति करिब साढे ४ प्रतिशत बढेको छ ।

नेप्से परिसूचक साताभरमा ६०.४७ अंकले बढेको छ । आइतबार १३९७.५७ अंकबाट कारोबार सुरु भएकोमा बिहीबार ४.३३ प्रतिशतले बढेर १४५८.०४ अंकमा पुगेको हो । सेयर बजार आइतबार १२ अंकले बढ्यो भने १ अर्ब १० करोडको कारोबार भयो । सोमबार २१ अंकले बढ्यो, २ अर्ब १३ करोडको कारोबार भयो । मंगलबार पनि नेप्से करिब १० अंकले बढ्यो भने करिब १ अर्ब ८ करोड रुपैयाँको सेयर खरिदबिक्री भयो ।

बुधबार सेयर बजार २१ अंकले नै बढ्यो भने २ अर्ब ६५ करोडको सेयर किनबेच भयो । त्यस्तै साताको अन्तिम दिन बिहीबार नेप्से ४ अंकले घट्दा १ अर्ब ९८ करोडको सेयर किनबेच भयो ।

त्यसैगरी, कारोबार रकम पनि गत साताको तुलनामा ९७ प्रतिशतले बढेको छ । गत साता ४ अर्ब ९४ करोडबराबरको सेयर खरिदब्रिकी भएकोमा यो साता ९ अर्ब ७४ करोडको सेयर खरिदबिक्री भएको छ ।

साप्ताहिक समीक्षा

उपसमूहअनुसार साताभरको कारोबार समीक्षा गर्दा व्यापारबाहेकका सबै उपसमूह बढेका छन् । व्यापार समूह ०.८४ प्रतिशतले घटेको छ भने उत्पादनमूलक समूह सबैभन्दा बढी ७.२१ प्रतिशतले बढेको छ । त्यस्तै निर्जीवन बिमा ६.९१, अन्य ६.२६, जीवन बिमा ५.६५, लघुवित्त ४.९७, बैंक ३.५३, जलविद्युत १.९९, विकास बैंक १.८, वित्त १.३६, होटल ०.९७ र म्युचुअल फन्ड ०.७६ प्रतिशतले बढेका छन् ।

निषेधाज्ञाका कारण घरमा थुनिएका लगानीकर्ताले छोटो समयका लागि सेयर बजारमा लगानी गरेको अनुमान गरिएको छ । लगानीकर्ताले बैंकको ब्याज सस्तो भएको मौका पारेर सेयर खरिद बढाएको कतिपयको बुझाइ छ । ब्रोकर कार्यालयमा अनलाइन दर्ता हुने क्रम पनि तीव्र गतिमा बढ्नुले पनि लगानीकर्ताले अनलाइनबाट सेयर किनबेच गर्ने क्रम ह्वात्तै बढेको प्रस्ट हुन्छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बितेका दुई सातामा साढे ७ हजार अनलाइन लगानीकर्ता बढेका छन् । शुक्रबार सार्वजनिक तथ्यांकअनुसार दुई सातामा अनलाइन कारोबारका लागि युजर नेम र पासवर्ड लिनेको संख्या ७ हजार ४६० जनाले बढेको हो ।

साउन १९ गतेसम्म ५७ हजार १५७ जनाले युजर नेम र पासवर्ड लिएकोमा भदौ ११ गतेसम्ममा बढेर ६४ हजार ६१६ पुगेको छ । सुरुमा सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन तथा भदौ ३ पछि निषेधाज्ञा लागू गरेपछि अनलाइन प्रयोगकर्ताको संख्या बढेको हो । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताको संख्या पनि २ लाख ८७ हजार ८५४ पुगेको नेप्सेले जनाएको छ ।

प्रकाशित समय १४:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु