गृहपृष्ठ जनतालाई कोरोना कहर, पार्टीलाई कार्यकर्ता बढाउने रहर
जनतालाई कोरोना कहर, पार्टीलाई कार्यकर्ता बढाउने रहर
कांग्रेस भेला तथा पार्टी प्रवेश ।
पञ्चपुरी नगरपालिका ३ तोक्मा सुर्खेतमा भदौ २ गते ४२ जनाले नेपाली कांग्रेसमा प्रवेश गरे । निर्वाचनपछि निरन्तर रुपमा गाउँ नछाडेको नेपाली कांग्रेसले पार्टीका कार्यकर्तालाई अधिवेशन र भेटघाट कार्यक्रमको अवसर जुराएको समयमा ४२ जनालाई पार्टी प्रवेश गरायो ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य हृदयराम थानी, पूर्व केन्द्रीय सदस्य शिवराज जोशी, जिल्ला पार्टी सभापति कमलराज रेग्मी, एवं क्षेत्रीय सह–सभापति नारायण कोइरालासमेत उपस्थित थिए । उनीहरुले ठूलो भेला गरी पार्टी प्रवेश गराएको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा छ । पार्टीको कार्यक्रम नेपाली कांग्रेसले सुर्खेतका नौ वटै स्थानीय तहमा गरिसकेको छ ।
त्यस्तै गुर्भाकोट नगरपालिका ७ सुर्खेतमा समेत ७५ घरधुरीका ३५० जनालाई नेपाल कम्युनिस्ट पार्टी नेकपाले प्रवेश गरायो भदौ ७ गते । प्रतिनिधि सभा सदस्य तथा नेकपा सुर्खेतका जिल्ला अध्यक्ष ध्रुवकुमार शाही, प्रदेश सभा सांसद ठम्मरबहादुर विष्टलगायतका पार्टीका नेताहरुले ठूलै सभाको आयोजना गरी नागरिकलाई पार्टी प्रवेश गराए ।
यी केही उदाहरणमात्रै हुन् । विश्व नै यतिबेला कोरोनाभाइरस (कोभिड–१९) सँग जुधिरहेको बेलामा सुर्खेतका राजनीतिक दललाई भने आगामी चुनावको रन्को छ । उनीहरु नागरिकलाई भेला गरी पार्टी प्रवेश गराउने काममा व्यस्त देखिन्छन् । कोरोनाभाइरसको संक्रमण समुदाय स्तरमा फैलिसकेको भन्दै जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञा तथा नाकाहरुमा कडाइ गरिएको छ । कांग्रेसले पञ्चपुरी नगरपालिकामा कार्यक्रम गरिरहँदा वीरेन्द्रनगर नगरपालिकामा निषेधाज्ञा थियो ।

त्यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले गुर्भाकोट नगरपालिकामा सभा गरी कार्यक्रम गर्दा वीरेन्द्रनगरको निषेधाज्ञा हटिसकेको थिएन । जिल्ला प्रशासन कार्यालय सुर्खेतले शनिबारदेखि पूर्णरुपमा निषेधाज्ञा खुला गरे पनि सबै खालका भीड, भेला, बैठक, समीक्षालगायतका क्रियाकलाप नगर्ने निर्णय गरेको छ । त्यसको अवज्ञा गर्दै जिल्लाका दुई ठूला दल भने सभा र बैठक गर्दै हिँडेका छन् ।
कांग्रेसका सुर्खेत सभापति कमलराज रेग्मी भीड र भेला नगरी पार्टीको निरन्तर कार्यक्रमअन्तर्गत वडा, गाउँलगायतका कमिटीमा भेटघाटमात्रै गरिएको बताए । ‘चुनाव सकिएलगत्तै नेपाली कांग्रेसले निरन्तर कार्यकर्ता तथा पार्टीबाट निर्वाचित सदस्यसँग भेटघाट गर्दै आएको छ,’ उनले भने, ‘आगामी अधिवेशनका लागि कार्यकर्तालाई कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको हो ।’ कांग्रेसले ठूलो भेला गरी कार्यक्रम सञ्चालन नगरेको उनको तर्क छ ।
कोरोनाभाइरस महामारीको समयमा कुनै पनि राजनीतिक दलले भाइरस नियन्त्रणमा ध्यान नदिएको भन्ने सन्दर्भमा उनले यही अभियानसँगै कोरोनाबाट बच्नका सचेतनासमेत फैलाउँदै हिँडेकोे बताए । ‘बरु सरकारले केही गरेको छैन,’ उनले थपे, ‘आफ्नालाई मात्रै कोरोना परीक्षण गरेको छ । आइसोलेसन र क्वारेन्टिनको व्यवस्था राम्रो छैन ।’ कांग्रेसका क्षेत्रीय सह–सभापति नारायण कोइरालाले पार्टीको निरन्तर कार्यक्रमअन्तर्गत सुर्खेत जिल्लाका नौ वटै स्थानीय तहमा पुगिसकेको जानकारी दिए ।
नेकपाका सुर्खेतका सचिव कृष्ण जिसी जितेन्द्रले समेत भीडभाड गर्ने हिसाबले पार्टीका कुनै काम नभएको बताए । ‘कार्यकर्ता भेटघाट कार्यक्रम निरन्तर रुपमै सञ्चालन भएको हो,’ उनले भने, ‘गुर्भाकोटमा भीडभाड भएकै हो । त्यसबाहेक अन्य क्षेत्रमा त्यस्तो भीडभाड गरी कार्यक्रम गरेका छैनौँ ।’

सरकारले गरेका निर्णयहरुको अवज्ञा गरी नेकपाले कुनै पनि कार्यक्रम नगरेको उनले तर्क गरे । कार्यक्रम गरे पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेको उनले बताए । पार्टीले कोरोनाभाइरस नियन्त्रणमा राज्यले जस्तै काम गर्न नसके पनि पार्टीको कामसँगै चेतना फैलाउने काम भने गरेको उनले जानकारी दिए । जिसीका अनुसार हालसम्म नेकपाले जिल्लाभर ५ सयभन्दा बढीलाई पार्टी प्रवेश गराइसकेको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले स्थानीय तहका प्रतिनिधिलाई जिम्मेवार गराउनुको विकल्प नभएको बताए । ‘यो कार्यक्रम हुँदैछ भन्ने जानकारी आए तत्काल रोकिन्थ्यो,’ उनले भने, ‘प्रायः कार्यक्रम धेरै भइसकेका छन् । अब जिल्लाका पार्टी प्रमुखहरुलाई बोलाएर यसो नगर्न अनुरोध गर्छु ।’
महाधिवेशन नजिक आएको समयमा उहाँहरुले पनि कार्यक्रम गर्नु स्वाभाविक हो तर स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर थोरैभन्दा थोरै जमघटमा कार्यक्रम गर्नुपर्ने उनले बताए । सबै ठाउँमा प्रहरी पुगेर कार्यक्रम गर्दै गर्दा नियन्त्रणमा लिन सम्भव नभएको भन्दै सिडिओ रेग्मीले जनप्रतिनिधिले नै जिम्मेवार भई नागरिकको सुरक्षाका लागि भीड नियन्त्रण गर्नुपर्ने स्पष्ट पारे ।
‘केही स्थानीय तहले कोरोना नियन्त्रणका लागि राम्रा कामसमेत गरेका छन्,’ उनले थपे, ‘तर केही स्थानीय तहमा भीडभाड बढेको भए पार्टीका जिम्मेवार व्यक्तिलाई त्यसो नगर्न अनुरोध गर्छु ।’ स्थानीय युवा सचेत भई भीड नियन्त्रणका लागि प्रशासनलाई जानकारी दिएर सहयोग गर्न सक्ने उनले बताए ।
प्रकाशित समय १८:४४ बजे
















