गृहपृष्ठ प्रणब मुखर्जीको जीवनयात्रा : शिक्षक, पत्रकार हुँदै राष्ट्रपतिसम्म
प्रणब मुखर्जीको जीवनयात्रा : शिक्षक, पत्रकार हुँदै राष्ट्रपतिसम्म
भारतका धेरै नागरिकले मन पराउने नेताको सूचीमा अग्रपंक्तिमा पर्ने पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधनको खबरले अहिले भारतभर शोक छाएको छ । अन्य देशका नेतासँग पनि राम्रो सम्बन्ध भएकाले उनको निधनप्रति विश्वभरबाट दुःख व्यक्त भइरहेको छ ।
विभिन्न दीर्घरोगका कारण अस्वस्थ्य रहेका ८४ वर्षीय मुखर्जीलाई कोरोना संक्रमण भएको पनि पुष्टि गरिएको थियो । अस्पतालमा उपचार गरिरहँदा पनि थप गल्दै गएपछि उनी केही दिनदेखि अचेत अवस्थामा थिए । भेन्टिलेटरमा राखेर उपचार गराइरहे पनि उपचार सफल नभएको उनकै छोराले जानकारी दिएका छन् ।
उनका बारेमा यसअघि पनि गलत समाचार सार्वजनिक भएपछि परिवारजन र अस्पतालले पटक‑पटक उनी जीवितै भएको र उपचार भइरहेको स्पष्टीकरण दिनुपरेको थियो । अन्ततः लामो राजनीतिक तथा सामाजिक संघर्ष गरेका मुखर्जीले सोमबार सधैँका लागि विश्राम लिएका छन् ।
उनी भारतको प्रधानमन्त्रीका लागि स्वाभाविक दाबेदार भए पनि प्रधानमन्त्री हुन नपाएका नेताका रुपमा चिनिन्छन् । सन् १९८४ र सन् २००४ मा उनी प्रधानमन्त्रीका लागि सशक्त दाबेदार देखिएका थिए । भारतीय काँग्रेस पार्टीकी तत्कालीन अध्यक्ष इन्दिरा गान्धीबाट प्रशिक्षित भएकाले पनि उनलाई आफू प्रधानमन्त्री बन्छु भन्ने विश्वास हुँदाहुँदै पनि बन्न पाएका थिएनन् ।
तथापि, प्रधानमन्त्री बन्न नपाएको बारेमा उनले कहिल्यै पनि सार्वजनिक रुपमा असन्तुष्टि व्यक्त गरेनन् । तर, उनकी छोरी तथा काँग्रेस नेतृ शर्मिष्टा मुखर्जीले आफ्ना बुवा भारतको प्रधानमन्त्री बन्न नपाएकोमा मनमा कता‑कता अन्याय अनुभव गरेको बताउने गर्थिन् ।
उनी सन् २०१२ मा भारतको राष्ट्रपतिमा निर्वाचित भएपछि त झन् यो असन्तुष्टि व्यक्त गर्नु अस्वाभाविक नै भएकाले त्यत्तिकै दब्यो । त्यसलाई थप दबाउन राष्ट्रपतिबाट बाहिरिएपछि गत वर्ष उनलाई भारत रत्न सम्मान प्रदान गरिएको थियो ।
सन् १९३५ को डिसेम्बरमा पश्चिम बंगालमा पर्ने मिराटी गाउँको एउटा सामान्य परिवारमा जन्मिएका मुखर्जी काँग्रेस पार्टीका नेता थिए । त्यसैले नै उनी स्वाभाविक रुपमा राजनीतिमा होमिए । युवा अवस्थादेखि नै राजनीतिमा संलग्न मुखर्जीले इतिहास र राजनीतिशास्त्रमा स्नात्तकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका थिए ।
उनी सन् १९६९ मा ३४ वर्षको उमेरमा राज्यसभाको सदस्य बनेका थिए । पार्टीबाट ६ वर्ष निलम्बन पनि भोग्नुपरेको थियो । त्यसपछि पनि निरन्तर पार्टीमा सक्रिय भएपछि उनी अर्थमन्त्री, रक्षामन्त्री र परराष्ट्रमन्त्रीजस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व पनि गरे । भारतको लोकसभाको सभामुखसमेत भएका मुखर्जीले अरु पनि धेरै सरकारी तथा सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका थिए ।
अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बोर्डमा पनि काम गरेकाले भारतमा उनलाई राम्रो अर्थविद्का रुपमा लिइन्थ्यो । त्यही पृष्ठभूमिमा उनलाई अर्थ मन्त्रालयको जिम्मेवारी प्राप्त भयो । त्यसमा सफल भएपछि थप राजनीतिक यात्रा पनि राम्रो बन्दै गयो ।
त्योभन्दा धेरै अगाडि उनी भारतमा शिक्षक र पत्रकारका रूपमा पनि सामाजिक क्षेत्रमा क्रियाशील रहे । उच्च शिक्षा पूरा गरेसँगै उनले स्थानीय शिक्षालयमा प्राध्यापन गरेका थिए । उनी स्थानीय बंगाली भाषामा प्रकाशित हुने पत्रिकाको सम्पादक पनि बनेका थिए ।
मुखर्जीलाई भारतमा प्रधानमन्त्री बन्नेबाहेक अन्य पर्याप्त अवसर पाएका नेताका रुपमा लिइन्छ । भद्र, सन्तुलित, समन्वयकारी र बौद्धिक व्यक्तिका रुपमा चिनिने मुखर्जीप्रति धेरै जनताको सकारात्मक धारणा रहँदै आएको थियो । (विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुको सहयोगमा)
प्रकाशित समय ०६:४६ बजे

















