गृहपृष्ठ नेपाललाई विश्व बैंकको थप सवा अर्ब अनुदान सहयोग
नेपाललाई विश्व बैंकको थप सवा अर्ब अनुदान सहयोग
नेपालमा सिकाइको स्तर सुधार्न र उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि कोभिड-१९ संकटका बीच विश्व बैंकले थप एक करोड पचासी लाख अमेरिकी डलर अर्थात (करिब एक अर्ब २७ करोड नेपाली रूपैयाँ) अनुदान सहयोग गरेको छ । नेपाल सरकार र विश्व बैंकबीच विद्यालय क्षेत्र विकास कार्यकमका लागि सहयोगसम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । यो रकम कोभिड-१९ संकटका बीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन सहयोग हुनेछ ।
सरकारको ‘विद्यालय क्षेत्र विकास कार्यकम’का लागि विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आईडीए) को १८५ मिलियन अमेरिकी डलर कर्जा सहायतासहित एसियाली विकास बैंक, युरोपियन युनियन, फिनल्यान्ड, ग्लोबल पार्टनरसिप फर एजुकेसन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, युएसएआईडी, युनिसेफ र विश्व बैंक द्वारा प्रशासित रिच मल्टि-डोनर ट्रस्ट कोषलगायतका निकायले सहयोग पु‑याइरहेका छन् ।
‘जीपीई कोभिड-१९ द्रुत कोष’ अन्तर्गत प्राप्त भएको थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड-१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पुर्याउने विश्वास लिइएको छ । अनुदान सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका निर्देशक फारिस हदाद-जर्भोसले हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय २०:४१ बजे

















