गृहपृष्ठ राजनीतिक दलको मुर्ख्याईं ! कोरोना महामारीमा पार्टी प्रवेश गराउने र संगठन बचाउने होड

राजनीतिक दलको मुर्ख्याईं ! कोरोना महामारीमा पार्टी प्रवेश गराउने र संगठन बचाउने होड

प्रदेश सांसददेखि जिल्ला तहका नेतासम्मलाई संक्रमण

पार्टी प्रवेश कार्यक्रम ।

नेपाली कांग्रेस जुम्लाबाट कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गरेका सांसद दिनबन्धु श्रेष्ठ पार्टीको कामको लागि गृहजिल्ला गए । जिल्लाका तातोपानी गाउँपालिका, हिमा गाउँपालिका तथा चन्दननाथ नगरपालिकामा उनको पार्टीका कार्यकर्तासँग भेटघाट र छलफल भयो ।

पार्टीको कार्यक्रम लिएर जिल्ला छिरेका उनले गत आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आरटी-पीसीआर परीक्षणका लागि स्वाब दिए । उनको कोरोनाभाइरस (कोभिड- १९) को रिपोर्ट पोजेटिभ आयो । हाल उनी चन्दननाथ नगरपालिका जुम्लामा रहेको आफ्नै घरमा होम आइसोलेशनमा बसेका छन् । ‘सामाजिक दुरी कायम गर्दागर्दै पनि मलाई संक्रमण देखियो । मेरो गृह जिल्ला भएकाले पार्टीको कामले जुम्ला गएको थिएँ,’ सांसद श्रेष्ठले भने । उनका अनुसार पछिल्लोसमय जुम्लामा कोरोनाभाइरस संक्रमण बढेकोले शंका लागि आरटी-पीसीआर परीक्षण गराएपछि पोजेटिभ आएको हो ।

त्यस्तै नेपाल कम्युष्टि पार्टी (नेकपा) सुर्खेतका सचिव कृष्ण जिसी (जितेन्द्र)लाई समेत कोरोनाभाइरस (कोभिड- १९) देखिएको छ । एक हप्ताअगाडि स्वाब दिएका उनको सोमबार रिपोर्ट पोजेटिभ आएको हो । उनी वीरेन्द्रनगरस्थित होटेलको आइसोलेशनमा बसेका छन् । जिसीले आफू पार्टीका कुनै पनि कार्यक्रममा सहभागी नभएको र सामान्य अवस्थामै परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताए । ‘म बरु मलामी गएको हुँ । सुर्खेतको पूर्व र पश्चिममा भइरहेको पार्टीका कुनै पनि कार्यक्रममा मेरो सहभागिता छैन,’ उनले भने ।

उनले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महाअधिवेशनको बहानामा गाउँ पसी पार्टी प्रवेशका कार्यक्रम गर्दै हिँडेपछि नेकपाका साथीहरु पनि संगठन बचाउन हिँडेको हुनुपर्ने तर्क गरे । त्यस्तै सुर्खेतकै जिल्ला स्तरका नेकपाकै अर्का एकजना सदस्यलाई समेत कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।

पछिल्लो समय कर्णाली प्रदेशका विभिन्न स्थानमा कोरोनाभाइरस समुदाय स्तरमा देखिन थालेको छ । विभिन्न मन्त्रालयका कर्मचारी, सवारी चालक, चिकित्सकसहित स्वास्थ्यकर्मी, व्यापारी, बैंकका कर्मचारी, अदालत तथा अस्पतालमा भर्ना भएका बिरामी र कुनै पनि संक्रमितको सम्पर्कमा नगएकाहरुलाई समेत कोरोना संक्रमण देखिन थालेको हो ।

कोरोनाको त्रासका बिचमा राजनीतिक दलहरु भने अटेरी गर्दै पार्टीका कार्यक्रम गरी नागरिकलाई पार्टी प्रवेश गराउनमै व्यस्त छन् । नेपाली कांग्रेसले आगामी फागुन ७ देखि १० गतेसम्म हुने चौधौं महाअधिवेशनको तयारी भन्दै कार्यकर्ता बटुल्न गाउँ पसेको छ । सत्तापक्ष नेकपासमेत नेपाली कांग्रेस गाउँ पसेपछि कार्यकर्ता हत्याउँछ भन्ने डरले कमिटी गठनमै व्यस्त देखिन्छ । राजनीतिक नेतृत्वलाई कोरोना संक्रमण आफूलाई हुन्छ वा नागरिकमा फैलिएला भन्ने त्रासभन्दा पनि कार्यकर्ता बढाउने चटारो छ ।

स्थानीय तह तथा प्रशासनसमेत यसमा मौन बसेको छ । प्रशासनले भिड भेला नगर्ने निर्णय गरे पनि कागजमै सीमित भएको छ । स्थानीय तह र प्रशासन एकले अर्कोलाई दोषी देखाउँदै जिम्मेवारीबाट पञ्छिएका छन् । राजनीतिक दलको गैर जिम्मेवारीपन, स्थानस्य सरकार तथा प्रशासनको मौनताले कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा संक्रमणको भयावह स्थिति देखिने निश्चित छ ।

दुई ठूला दल नेपाली कांग्रेस र नेकपाले उग्र रुपमा पार्टीका कार्यक्रम गर्दै हिँडेका छन् । समुदायमा सुरक्षित बसेका नागरिकलाई राजनीतिक दलका नेताहरुले भेला गराई कोरोनाको ठूलो जोखिममा पारेको चौकुने गाउँपालिका ४ का किरण बि.सीले बताए । ‘नेताहरुले गाउँ–गाउँमा कोरोना फैलाएका छन्,’ उनले भने, ‘यो पार्टीमा कार्यकर्ता भित्र्याउने समय होइन । यो त सबै मिलेर रोगसँग लड्ने बेला हो ।’ उनका अनुसार दुई ठुला जिम्मेवारी दल सिंगो सरकारको नेतृत्व गरेको नेकपा र प्रमुख प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसको गैरजिम्मेवारपूर्ण कामले नागरिकहरुमा एक खालका त्रास पैदा भएको छ । यसमा प्रसाशन र स्थानीय तहसमेत मुकदर्शक भएको उनले आरोप लगाए । कर्णाली प्रदेशभर हालसम्म २ हजार ६ सय ७४ जनामा कोरोन भाइरस पुष्टि भइसकेको छ ।

प्रकाशित समय १८:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु