गृहपृष्ठ हुम्लामा ५० करोड रूपैयाँको सिमी उत्पादन
हुम्लामा ५० करोड रूपैयाँको सिमी उत्पादन
हुम्लामा पचास करोडभन्दा धेरैको रैथाने सिमी उत्पादन भएको छ । यसबाट हुम्ली किसानहरूले वर्षेनी राम्रो आम्दानी गर्न सफल भएका छन् । नगदे बालीका रुपमा चिनिएको सिमीको ब्यापारले हुम्लाका किसानहरूका लागि राम्रो आम्दानी दिने गरेको छ ।
दिनप्रति दिन यसको माग बढ्दै गए पनि उत्पादनमा विविधता र विकासे तरिका अपनाइएको छैन ।हुम्लामा सिमीलाई नगद आम्दानी गर्ने माध्यम मात्र नभएर विभिन्न प्रकारका खानपानका परिकारहरू दाल, राइतो, कोल र खिच्चोलगायत बनाएर एकल र संयुक्त परिकारका रुपमा प्रयोग गर्ने गरिएको छ । हुम्लामा विभिन्न प्रकारका अगौटे र पछौटे जातका रैथाने सिमीहरूको खेती गर्ने चलन बढ्दै गएको सर्केगाड गाउँपालिका, उनपानी गाउँका कृषि प्राविधिक बलबहादुर फडेराले आफ्नो अनुभव सुनाए ।
हुम्लामा विभिन्न प्रकारका रैथाने सिमीका जातहरूका साथै अनेकौं प्रकारका विकासे जातहरू पनि ल्याइएको छ । यसबाट रैथाने जातहरूमा ब्रिडिङ भएर विभिन्न प्रकारका क्र्सजातहरू पनि उत्पादन भएको कृषि प्राविधिकहरूले बताउने गरेका छन् । वर्षेनी कृषि विकास कार्यालयको आँकडा अनुसार प्रतिवर्ष एक सय ७० हेक्टर जमिनमा सिमीको खेती गरिएको पाइन्छ । यसमा अझ घुसुवा बालीको क्षेत्रलाई जोड्दा अझ धेरै हुन आउँछ । यो सिमी खेतीको एकल क्षेत्रफललाई मात्र लेखाजोखा गर्दा हुम्लामा वर्षेनी २ सय ५० मेट्रिक टन सिमी उत्पादन हुने गरेको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चन्द्रभुषण झाले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय वातावरणमा फेरबदल हुँदा हुम्लामा पनि सिमी उत्पादन कहिले धेरै हुने र कहिले विभिन्न प्रकारका रोगहरूले दुःख दिने गरेको पनि छ । तर यसबारेमा किसान र जिम्मेवार निकायले खासै चासो देखाएका छैनन् । मात्र प्रायोजित बजेट वितरणका लागि हानथाप मात्र हुने गरेको सामाजिक अगुवा रमेश ऐडीको मत रहेको छ ।
हुम्लामा कालो, रातो, सेतो, पहेँलो, खैरो, निलो, आकासे, छिरबिरे लगायतका विभिन्न प्रकारका सिमीहरू फलाउने गरिएको छ । यी सिमीका जातहरूलाई अगौटे, पछौटे, दुई माँसे, सात माँसे, पाँच माँसेका साथै एकल र घुसुवा बालीका रुपमा परम्परागत रुपमा खेती गरिदैँ आएको छ । कृषि विकास कार्यालय हुम्लाले संघ, प्रदेश र स्थानीय तह लगायत धेरै गैससहरूले सिमीको विकास र विस्तारका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरे गरिए पनि खासै प्रभावकारी हुन नसकेको सिमकोट- २, ठेहेका अगुवा किसान गोरासिंह बोहराले आफ्नो दुःखेसो सुनाए ।
हुम्लाको स्थानीय बजारमा चलेको प्रति केजी २०० रुपैयाँको दरले हिसाब गर्दा यो ५० करोडभन्दा धेरै सिमी उत्पादन हुने गरेको तथ्यांक विभिन्न आधारबाट थाहा भएको छ । योमध्ये करीब ४० प्रतिशतमा मात्र बजारमा बिक्री हुने गरेको छ । बाँकी घरायसी काम र बीउबीजनका लागि राख्ने गरिन्छ ।
प्रकाशित समय १९:२७ बजे

















