गृहपृष्ठ एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने
एनआईसी एशिया बैंकको चेक जम्मा गर्न अब अनलाईनबाटै भौचर भर्न सकिने
एनआईसी एशिया बैंकले बैंकिङ इतिहासमै पहिलोपटक घर वा अफिसबाटै आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी बैंकको चेक आफ्नो वा आफूले चाहेको खातामा जम्मा गर्न अनलाइनबाटै भौचर भर्न मिल्ने प्रणालीको सुरुआत गरेको छ ।
ग्राहकहरुले https://www.iserve.nicasiabank.com लिंकमा गई चेक जम्मा गर्न डिजिटल माध्यमबाट भौचर भर्न सक्नेछन् । ‘लिंकभित्र सेवाग्राहीहरूका लागि भौतिक फारमकै ढाँचाको डिजिटल भौचर राखिएको छ । उक्त भौचरमा आफूलाई पायक पर्ने शाखा छनौट गरी आवश्यक विवरणहरु भरिसकेपछि बैंकबाट सेवाग्राहीलाई एसएमएस (SMS)मार्फत डिपोजिट कोड पठाइनेछ र त्यसपछि उक्त डिपोजिट कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै भौचर सोझै काउण्टरमार्फत आफूले चेक जम्मा गर्न चाहेको खातामा चेक जम्मा गर्न सकिनेछ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यसरी चेक जम्मा गर्दा सेवाग्राहीले काउण्टरमा बसेको बैंकको कर्मचारीलाई आफ्नो डिपोजिट कोड भनेपछि चेक बुझ्ने र यसपछि बैंकका कर्मचारीद्वारा चेक जम्मा भएको भौचर सम्बन्धित सेवाग्राहीलाई प्रदान गरिनेछ । बैंकले ल्याएको अनलाइनबाटै भौचर भर्न सकिने सुविधाले लाइन नबसी सेवा लिन सकिने हुनाले काउण्टरमा पुगेर लामोसमय लाइनमा बस्नुपर्ने परम्पराको अन्त्य हुने बैंकले विश्वास लिएको छ ।
चेक जम्मा गर्ने भौचर अनलाइन भर्ने यस सेवाको अलावा बैंकले नगद रकम जम्मा गर्ने भौचरसमेत अनलाइनबाट भर्ने प्रणाली ल्याइसकेको छ भने सेवाग्राही आफैँ बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने (Digital Account Opening) प्रणालीको समेत सुरुवात गरिसकेको छ । साथै मोबाइल बैंकिङ सेवा नवीकरण, अनब्लक, ब्लक, तथा पिन रिसेट गर्ने एवं मौज्दात विवरण, चेक अनुरोध, ई-कमर्श दर्ता, ब्यालेन्स सर्टिफिकेट अनुरोध, ABBS सुविधा र स्टेटमेन्ट अनुरोध गर्नका लागि समेत यस iServe मार्फत सेवा दिइरहेको बैंकले उल्लेख गरेको छ र उक्त सेवाहरू iServe मार्फत लिँदा शतप्रतिशतसम्म शुल्क छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ ।
प्रकाशित समय १५:१६ बजे

















