गृहपृष्ठ हुम्लामा पनि फल्यो बोधिचित्त, व्यावसायिक खेती गर्न सकिने
हुम्लामा पनि फल्यो बोधिचित्त, व्यावसायिक खेती गर्न सकिने
हुम्लामा पहिलो पटक बोधिचित्त फल फलेको छ । हिमाली जिल्लामा पनि बोधिचित्त फलेपछि स्थानीय अर्थतन्त्रमा नौलो आयाम थप्ने भन्दै यसको व्यावसायिक रूपमा खेती गर्नुपर्ने स्थानीयवासीकाे भनाइ छ ।
काठमाडौंमा स्नातकोत्तर अध्ययनको क्रममा चार वर्षअघि हुम्लाको गोठीका युवा इराजन शाहीले कालीन्चोकको एक नर्सरीबाट १० वटा बिरुवा झिकाएर हुम्ला पठाएका थिए । यसको वैज्ञानिक नाम ‘जीजीफस बुढेनीसस्” हो ।
बोधिचित्तको मूल्य के कसरी हुन्छ भन्ने विषयमा त्यसको दानाले निर्धारण गर्ने हुम्लाका प्राविधिकहरूले बताएका छन् । ‘जति सानो फल, त्यति धेरै मोल पर्ने गर्छ,’ हुम्लामा पहिलोपटक बोधिचित्त परीक्षण गरेका रामराज शाहीले भने, ‘अहिले काभ्रेको तिमाल क्षेत्रबाट लाखौंको बोधिचित्त मालाको व्यापार हुने गरेको छ । पूजा गर्दा पुरै माला हातको मुठीमा सजिलै अट्न सक्ने भएपछि यसको मूल्य बढी हुने गरेको छ ।’
हुम्लामा पहिलोपटक गत वर्ष २०७६ मा बोधिचित्तको कलिलो रुखले फल दिएको थियो । लटरम्म फूल फुल्ने तर, फल लाग्दा १०/१२ दाना मात्र लाग्ने गरेको थियो । यो वर्ष भने त्योभन्दा पनि धेरै फल लागेकाले हुम्लामा पनि बोधिचित्तको व्यावसायिक खेती गर्न सकिने उनले बताए ।
हुम्लाको सर्केगाड गाउँपालिका- ५, गोठीका रामराज शाही र उनका छोराले काठमाडौंबाट ल्याएको बोधिचित्त बिरुवाको परीक्षण सफल भएको भन्दै कृषि प्राविधिकहरूले व्यावसायिक खेती गर्न सक्ने बताएका छन् ।
बोधिचित्त बोट दस मिटरसम्म अग्गो हुन्छ । यसको दानाबाट बनाइने मालालाई बुद्धचित्त माला भनिन्छ । हाल विश्वभरी यसको माग धेरै भएकाले नेपालका विभिन्न स्थानहरुमा यसको व्यावसायिक खेती बढ्दै जान थालेको शाहीले बताए । उनका अनुसार हुम्लामा पहिलो पटक बोधिचित्त व्यावसायिक रूपमा प्रयोग गर्न सकेमा कम श्रम र कम लगानीमै उत्पादन गर्न सकिन्छ । खेर गएको पाखो जग्गाको उपयोग गरेर उत्पादन गर्न सकिने उनकाे भनाइ छ ।
प्रकाशित समय १२:१६ बजे

















