गृहपृष्ठ पूर्वअर्थमन्त्री डा. महतद्वारा लिखित पुस्तक बजारमा
पूर्वअर्थमन्त्री डा. महतद्वारा लिखित पुस्तक बजारमा
पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतद्वारा लिखित ‘Trials, Tremors, and Hope: Political Economy of Contemporary Nepal’को नेपाली संस्करण ‘समकालीन नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा’ प्रकाशित भएको छ ।
केही महिनाअघि अनावरण भएको डा. महतको उक्त अंग्रेजी पुस्तकलाई नेपालीमा सर्वसाधारणले बुझ्ने भाषामा प्रकाशन गर्न थुप्रै पाठक तथा शुभेच्छुकबाट अनुरोध आएपछि मकालु प्रकाशन गृहले नेपाली संस्करणलाई बजारमा ल्याएको हो । वरिष्ठ पत्रकार गजेन्द्र विष्टले उक्त पुस्तकलाई नेपालीमा अनुवाद गरेका छन्र ।
पुस्तकको अंग्रेजी संस्करणलाई भारतको एड्रोइट पब्लिसर्सले प्रकाशनमा ल्याएको थियो । प्रकाशन गृहका अध्यक्ष बासुदेव ढकालले पूर्वअर्थमन्त्री तथा कांग्रेस वरिष्ठ नेता डा. महतको पुस्तक प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गर्दै कोभिडको महामारी र प्रतिकूलताकाबीच पुस्तकलाई सर्वसाधारणको पहुँचमा पुर्याउन नेपालका प्रमुख सहरहरुमा वितरणको व्यवस्था मिलाइने बताए । यसअघि सोही प्रकाशन गृहले डा. महतको अघिल्लो पुस्तक ‘In Defence of Democracy Dynamics and Fault Lines of Nepal’s Political Economy’लाई पनि नेपालीमा प्रकाशित गरेको थियो ।
कुल १२ वटा अध्यायमा विभक्त यस पुस्तकमा समाजवादी दृष्टिकोणको उत्पत्ति, बदलिँदो विश्व परिस्थितिमा यसको विकास र आधुनिक विश्वका विभिन्न प्रजातान्त्रिक तथा साम्यवादी मुलुकमा अवलम्बन गरिएका यसका विभिन्न पक्षका बारेमा चर्चा गरिएको छ । राज्य निर्देशित केन्द्रीय योजना प्रणाली अथवा अहस्तक्षेपकारी र पूर्णरुपमा स्वतन्त्र बजारमुखी शास्त्रीय आर्थिक नीति दुवै असान्दर्भिक भएको चित्रण गर्दै दुवै दर्शनका दुर्बल पक्षहरुको विस्थापन गरी व्यवहारिक रुपमा कार्यान्वयनयोग्य सकारात्मक पक्षहरु सम्मिलित मिश्रित आर्थिक तथा राजनीतिक शासन प्रणालीलाई नयाँ दर्शनको रुपमा वकालत गरिएको छ ।
पुस्तकमा नेपालको समकालीन अर्थराजनीतिका विविध पक्षहरुको यथार्थता र तथ्यका आधारमा समीक्षा एवं विश्लेषण गर्ने प्रयास गरिएको छ । विगतका विभिन्न राजनीतिक परीक्षण तथा अन्य घट्नाक्रम र कम्पनहरु विशेषगरी माओवादी द्वन्द्व र सन् २०१५ को महाभूकम्पको प्रभाव एवं असरका बारेमा समीक्षात्मक चर्चा गरिएको छ । साथै पुस्तकमा नयाँ संविधानका प्रमुख विशेषता र कार्यान्वयनका चुनौतीहरुलाई पनि समेटिएका छन् ।
समकालीन नेपालमा जे जति आर्थिक उपलब्धिहरु हासिल भए, त्यसलाई प्रभाव पार्ने मुलुकको अर्थराजीतिका विविध पक्षहरुका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा खासगरी दुई ठूला छिमेकी मुलुकहरुसँगको सम्बन्धका विविध पक्षहरुका अतिरिक्त राष्ट्रको आर्थिक विकासमा दुईपक्षीय र बहुपक्षीय संस्थाहरुसँगको साझेदारिताको भूमिका एवं हालका बर्षहरुमा नेपालबाट बढ्दै गएको आप्रवासनबारे चर्चा एवं विश्लेषण गरिएको छ । नेपालको प्रचूर साधन, स्रोत एवं तुलनात्मक लाभका क्षेत्रहरुको अधिकतम सदुपयोग गरी उच्च आर्थिक वृद्धि हासिल गर्नुपर्नेमा जोड दिइएको छ ।
नेपालको कायापलट गर्ने तुलनात्मक लाभका क्षेत्रहरुमध्ये जलशक्तिबाट स्वच्छ उर्जाको वृहत् सम्भावना, भौगोलिक विविधता, उच्च हिमाली श्रृंखला सहितको पर्यावरणीय पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदा, दुई ठूला छिमेकीकाबीचमा रहेको भूभौगोलिक अवस्थिति र नेपालप्रति अन्तर्राष्ट्रिय जगतको सद्भाव एवं सदाशयता आदिलाई उजागर गरिएको छ । आर्थिक एजेण्डामा राज्यको सारा ध्यान केन्द्रित गरी सन् २०२१ भित्रमा नेपाललाई अल्प विकसितबाट विकासोन्मुख मुलुकको रुपमा स्तरोन्नति गर्ने र दिगो विकासका लक्ष्य पूरा गरी सन् २०३० सम्ममा मध्यम आय भएका मुलुकमध्येमा स्थापित गर्नेतर्फ केन्द्रीकृत हुन सुझाव दिइएको छ । यो लक्ष्य हासिल गर्नका लागि मुलुकले नयाँ सुधारका कार्यक्रमहरुलाई तीव्रताका साथ अगाडि बढाउनुपर्ने र कार्यान्वयनका जटिलताहरुको शीघ्र समाधान गर्नुपर्नेमा जोड दिइएको छ । यस अतिरिक्त मुलुकले प्राथमिकताका साथ पूरा गर्नुपर्ने यससम्बन्धी कार्यहरुका बारेमा पुस्तकमा सुझावसहित प्रस्तुत गरिएको छ ।
सरकारी स्तरबाट विशेषगरी पुँजी निर्माण र पूर्वाधारको अभाव पूरा गर्ने गरी लगानी बढाउनुपर्ने खाँचो औंल्याइएको छ । क्षणिक लोकप्रियता हासिल गर्नका लागि सरकारी साधन स्रोतलाई अनुत्पादक क्षेत्रमा अधिक उपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र सार्वजनिक खर्चलाई कार्यकुशल, उत्पादनशील र प्रभावकारी बनाउनुपर्ने, समाजका हरेक अंग प्रत्यांगमा हुने राजनीतिकरण रोक्नुपर्ने, पेशागत दक्षता अनुसारको सेवा दिने परिपाटी र आचरणको विकास गर्नुपर्ने, सुशासन कायम गरी सरकारी सेवाप्रति जनविश्वास पैदा गर्नुपर्ने र तुलनात्मक लाभका क्षेत्रहरुलाई सदुपयोग गरी पुँजीकृत गर्नका लागि सिर्जनशीलता, नवीन आविस्कारक, कार्यनिष्ठ, परिश्रमी एवं इमानदार कार्यसंस्कारको विकास गर्नुपर्नेमा पुस्तकमा विशेष जोड दिइएको छ ।
प्रकाशित समय १४:५५ बजे

















