गृहपृष्ठ कुमारी बैंकले दियो एसिडपीडित तीनजना युवतीलाई जागिर
कुमारी बैंकले दियो एसिडपीडित तीनजना युवतीलाई जागिर
विभिन्न समयमा एसिड आक्रमणबाट पीडित बनेका तीन युवतीले कुमारी बैंक लिमिटेडमा रोजगारी पाएका छन् । बैंकले एसिडपीडित दुई युवतीलाई काठमाडाैं उपत्यकामा र एकजनालाई मकवानपुरको हेटौँडामा स्थायी रोजगारीको व्यवस्था गरेको हो ।
रोजगार पाउनेमा हेटौँडाकी विन्दवासिनी कंसाकार र काठमाडाैंमा बस्दै आएकी जेनी खड्का र संगीता मगर छन् । तीनैजनालाई मार्केटिङ अफिसरका रुपमा नियुक्त गरेको बैंकले जनाएको छ । बैंकका अनुसार उनीहरूले असोज १ गतेबाटै गणना हुने गरी रोजगारी पाएका हुन् । सुरुमा एक महिनाको करार र त्यसपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्थायी नियुक्ति दिइने बैंकका डेपुटी सीईओ अनुजमणि तिम्सिनाले जानकारी दिए ।
काठमाडाैंकाे कालोपुलमा गत वर्ष जेठ २ गते काभ्रे फूलबारीकी जेनीमाथि एसिड प्रहार भएको थियाे । संगीता मगर भने एसएलसी परीक्षाको तयारीका लागि ट्युसन जान लाग्दा २०७१ फागुन १० गते बिहान एसिड प्रहारको शिकार बनेकी थिइन् । हेटौँडाकी कंसाकारमाथि भने २०७० वैशाख ९ गते पसलमा बसिरहेको बेला एसिड आक्रमण भएकाे थियाे ।
एसिडपीडित युवतीहरुलाई बैंकले अधिकृत सरहको रोजगारी दिएर उनीहरुलाई समाजमा पुनःस्थापना हुने अवसर सिर्जना गरेको डेपुटी सीईओ तिम्सिनाले बताए । यसले उनीहरुमाथि अपराधविरुद्ध लड्न अझै हौसला प्राप्त हुने उनीको बुझाइ छ ।
प्रकाशित समय १३:३६ बजे

















