गृहपृष्ठ राजधानीका स्थानीय तहमा अभियानकै रुपमा गुर्जो रोप्न थालियो
राजधानीका स्थानीय तहमा अभियानकै रुपमा गुर्जो रोप्न थालियो
राजधानीका स्थानीय तहमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न सहयोग गर्ने वनस्पति गुर्जो रोप्नका लागि अभियान नै चलाइएको छ । गुर्जोका बिरुवा निःशुल्क बाँड्दै आएका आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवटले सोमबार राजधानीका तीन स्थानीय तह र त्रिभुवन विश्वविद्यालयका चार विभागमा बिरुवा हस्तान्तरण गरेका छन् । बूढानीलकण्ठ नगरपालिकालाई २ सय, महालक्ष्मी नगरपालिकालाई २ सय र सूर्यविनायक नगरपालिका ५ लाई ३ सयवटा गुर्जोका बिरुवा प्रदान गरिएको उनले बताए ।
उनले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको वनस्पति, जीव विज्ञानलगायत विभागका लागि ८ सय र ललितपुरको ठैब क्षेत्रका लागि पनि ३ सय बिरुवा वितरण गरेका छन् । बूढानीलकण्ठ नगरपालिकामा कोरोनाभाइरस संक्रमण भई आइसोलेसन कक्षमा बसेका ३५ जनालाई गुर्जोबाट बनेको ३५ किलो चिया पनि नगर प्रमुख उद्धवप्रसाद खरेलमार्फत प्रदान गरिएको छ ।
उपत्यकामा एक घर एक गुर्जोको बिरुवा रोप्न अभियान नै चलाइएको छ । अभियानमा हाल उपत्यकामा क्रियाशील बागमती, रुद्रमती, विष्णुमती, चक्रपथलगायत क्षेत्रका सफाइ अभियानकर्मी पनि सहभागी भएका छन् । उपत्यकाका सबै नदी किनारमा गुर्जोको बिरुवा रोप्ने अभियान सुरु भइसकेको छ ।
गुर्जो मधुमेह, उच्च रक्तचाप, मौसमी रुघाखोकीलगायतका लागि औषधीको रूपमा प्रयोग हुन्छ । गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिकालाई भने गुर्जो सेवन गराउन हुँदैन । हालसम्म लहानस्थित सरकारी निवास क्षेत्रमा हुर्काइएका करिब ७५ हजार गुर्जोका बिरुवा हालसम्म देशका विभिन्न भागमा पु-याइसकिएको छ ।
गुर्जो रोपण अभियानलाई देशव्यापी बनाउन राष्ट्रिय योजना आयोगका सहसचिव एवं योग शिक्षक किशोर जोशी, जीवन विज्ञानका योग प्रशिक्षक रामप्रसाद पन्थीलगायत अभियानकर्मी पनि राजलवटसँगै जुटेका छन् । (रासस)
प्रकाशित समय ०६:२९ बजे
















