गृहपृष्ठ पोखरा रंगशालाको निर्माण अन्तिम चरणमा
पोखरा रंगशालाको निर्माण अन्तिम चरणमा
पोखरा रंगशालाको निर्माण कार्य ८६ प्रतिशत सम्पन्न भएको छ । रंगशालाको काम ८६ प्रतिशत सम्पन्न भएको पश्चिमाञ्चल खेलकुद विकास समितिका इन्जिनियर प्रनिस ताम्राकारले जानकारी दिए । करिब १ अर्ब २८ करोड ५० लाख लागतमा सो रंगशालाको निर्माण भइरहेको हो ।
माछापुच्छ्रे हिमालको काखैमा खेलकुदको मनोरञ्जन लिन र खेल कौशल देखाउन पाइने यो रंगशाला खेलप्रेमी र खेलाडी सबैका लागि आकर्षणमा पर्छ । निर्माण पूरा भएपछि यो नेपालकै ठूलो रंगशाला हुनेछ । रंगशालामा २० हजार ५ सय दर्शक क्षमताको प्याराफिट बनाउने योजना छ । यसमध्ये १६ हजार ५ सय सिट जडान भइसकेको इन्जिनियर ताम्राकारले जानकारी दिए ।
उनका अनुसार अब पीई बिल्डिङको काम मात्र बाँकी छ । ‘यसका लागि आवश्यक पर्ने ट्रष्टको साम्रगी नआएकाले मात्र काम रोकिएको हो,’ उनले भने, ‘स्टेडियमको पश्चिमतर्फ भीआइपी सिटमध्ये छानाको काम इन्डियाबाट आउनुपर्ने सामान नआएकाले रोकिएको छ । चेन्जिङ रुम, मिडिया सेन्टर लगायतको काम तोकिएको समयमै पूरा भएको छ ।’
रंगशालामा दैनिक २० जना कामदारले काम गरिरहेका छन् । अब छतसँगै बिजुली जडान गर्ने कार्य बाँकी छ । लकडाउनका कारण भारतीय ‘टेक्निकल’ टिमका व्यक्तिहरु फिर्ता भइसकेकाले काममा अन्यौलता ल्याएको थियो । स्टेडियमको चारैतिर पिच निर्माणधीन अवस्थामा छ भने भने १७ वटा शौचालय निर्माण भइसकेका छन् ।
ब्रिक पाइपलाइन, सेनेटरी र टायलको काम जारी रहेको छ । भारतीय कम्पनी ग्रेट स्पोर्टस र एमए कन्स्ट्रक्सन, जावलाखेलले फुटबल मैदानसहित प्याराफिट निर्माणको ठेक्का लिएको हो । मंसिर १५ देखि २४ गतेसम्म १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता पनि यही रंगशालामा सञ्चालन भएको थियो ।


प्रकाशित समय १४:०९ बजे

















