गृहपृष्ठ कर्णालीमा कोरोना : बढ्दै खतरा, घट्दै सावधानी

कर्णालीमा कोरोना : बढ्दै खतरा, घट्दै सावधानी

कर्णाली प्रदेशमा हालसम्म तीन हजार ८८९ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भइसकेको छ, तीमध्ये तीन हजार १६४ जना कोरोनामुक्त भए भने ७२५ जना सक्रिय संक्रमित छन् ।

कोरोना संक्रमितमध्ये करिब २० प्रतिशत जटिल छन् र कोरोनाबाटै मृत्यु हुनेको संख्या दैनिक बढ्दै गएको छ । कर्णालीमा हालसम्म १० जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । ६ दिनयता लगातार चार जनाले कारोनाभाइरसका कारण ज्यान गुमाएको प्रदेश स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा कोरोनाभाइरसको खतरा बढ्दै गए पनि यसबाट बच्न आवश्यक सावधानी भने घट्दै गएको छ । बाहिरबाट आउनेहरु क्वारेन्टिन नबसी परिवारको सम्पर्कमा सिधै जाने र कोरोना संक्रमण पुष्टि भएकाहरु होम आइसोलेसनका नाममा परिवारका सबै सदस्यसँग घुलमिल हुने गरेकाले खतरा झनै बढेको हो । सरकारी क्षेत्रबाट समेत आवश्यक सावधानीका काम नहुँदा समस्या झन् बढ्दै गएको छ ।

प्रदेशभर २३ हजार २६ शय्या क्षमताको क्वारेन्टिन रहे पनि क्वारेन्टिन बस्नेहरु जम्मा ४६८ जना छन् । क्वारेन्टिनमा बस्दै आएका ५८ हजार २६७ जनामध्ये ५७ हजार ७९९ जना घर फर्किसकेका छन् । हाल सल्यानमा १४०, सुर्खेतमा १३३, कालीकोटमा ७२, दैलेखमा ५२, जाजरकोटमा ६९ र रुकुम पश्चिमा २ जना क्वारेन्टिनमा रहेको महाशाखाले जनाएको छ । प्रदेशभरका सक्रिय कोरोना संक्रमित ७२५ मध्ये ३७७ होम आइसोलेसनमा छन् भने ३४८ जना अस्पताल तथा स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा बस्दै आएका छन् । अस्पतालमा भन्दा घरमा संक्रमितहरु बस्ने गरेकाले संक्रमण विस्तारको त्रास झनै बढेको छ ।

कर्णाली प्रदेशमा यही गतिमा संक्रमण बढ्ने हो भने अवस्था भयावह हुन सक्ने प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख रवीन खड्का बताउँछन् । ‘चार्डपर्व नजिकै आएको छ,’ उनले भने, ‘एक हप्तायता मृतकसँगै र जटिल खालका संक्रमितसमेत बढेका छन्, यो राम्रो संकेत होइन ।’

प्रदेशमा नयाँ संक्रमितसमेत बढ्दै गएको उनले बताए । ‘सम्भावित जोखिमलाई न्यूनीकरण गर्न आइसोलेसन, आईसीयू र भेन्टिलेटर थप गर्ने योजना बनाइएको छ,’ खड्काले भने । उनका अनुसार प्रदेशभर ६२ वटा आईसीयू र २४ वटा भेन्टिलेटर भए पनि यसको संख्या र गुणस्तरमा समेत ध्यान दिनुपर्ने अवस्था आएको छ । कर्णाली सरकारले कोरोना परीक्षणको दायरालाई बढाउने, केस इन्भेस्टिगेसन र कन्ट्याक ट्रेसिङ गर्ने तथा जनचेतना फैलाउने गरी तयारी गरेको उनले जानकारी दिए ।

कर्णाली प्रदेश प्रवेश गर्ने तीनवटा नाका बबई, सल्यानको कपुरकोट र सुर्खेतको जामु क्षेत्रमा थप कडाइ गर्ने तयारी सरकारले गरेको पनि खड्काले बताए । ‘होम आइसोलेसनमा बस्दैमा समस्या हुँदैन,’ उनी भन्छन्, ‘सरकारले जारी गरेको मापदण्ड भने पूरा गर्नैपर्छ ।’

प्रकाशित समय ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु