गृहपृष्ठ रंगीचंगी देखिन थाले पोखराको आकाशमा
रंगीचंगी देखिन थाले पोखराको आकाशमा
फाइल तस्बिर।
लामो समयको लकडाउनका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन सुरु गरेका छन् ।
साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान सुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन् । प्याराग्लाइडिङ उडानले पोखराकाे आकाश रंगीबिरंगी देखिन थालेकाे छ ।
केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमश्रंखला तालतलैयाको दृश्वालोकन गरेका नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले जीवनको पहिलो प्याराग्लाडिङ उडानको अनुभव निकै स्मरणीय रहेको बताए । ‘मलाई गजब आनन्द लाग्यो, अन्य उडानबाट आकाशमा उड्नु र प्याराग्लाडिङबाट उड्नुमा धेरै फरक रहेछ, नजिकबाट प्रकृतिको स्वच्छ अवलोकनले मलाई निकै फ्रेस बनायो,’ उनले भने ।
उनले सन् २०१२ का सीएनएन हिरो लाक्पा छिरीसँग उड्न पाउँदा पनि छुट्टै आनन्द लागेको अनुभव सुनाए । ‘लामो समयको बन्दाबन्दी र सधैँ एउटै दिनचर्याबाट केही टाढा लाक्पा जीसँगको आकाशको सफर मेरो लागि सदा स्मरणीय रहनेछ,’ गौतमले भने ।
पोखराको प्रतिभा उच्च माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीया रोजमेरी ढुंगानाले पनि जीवनमा पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङ उडानले निकै रोमाञ्चक बनाएको बताइन् । ‘कोभिड- १९ का कारण घरमै बस्नुपर्दा निकै दिक्क लागेको थियो । लामो समय भयो कहीँ कतै घुम्न जान पाएको थिएन, यहीबीच प्याराग्लाइडिङ खुलेसँगै आकाशमा उड्न पाएँ, सुरुमा त निकै डर लागेको थियो पछि बिस्तारै चरा जस्तै बनेर फेवाताल र वरिपरिको सुन्दर दृश्यको मज्जा लिन थालेँ, जमीनमा झर्न नपरे हुन्थ्योजस्तो लागेको थियो,’ उनले अनुभव सुनाइन् । जीवनको पहिलो साहसिक खेलपछि अब अन्य साहसिक खेल खेल्न पनि आफूलाई थप ऊर्जा मिलेको उनले बताइन् ।

पोखराको आकाशमा ११ वर्षदेखि उडान गर्दै आएका प्यारापाइलट दुर्योधन खड्का कोभिड- १९ पछि सुरु भएको व्यावसायिक उडानले केही आशा जगाएको बताए । ‘अघिल्लो वर्ष पोखराका सराङकोटबाट चारपाँच सय उडान हुन्थ्यो, यो मौसम प्यारापाइलटहरुका लागि साँच्चै दसैं हो तर अहिले मुस्किलले फाट्टफुट्ट पर्यटक देख्दा पनि खुशी हुनुपरेको छ,’ उनले भने । अहिले संस्थाले सहुलियत प्याकेजमा उडान गरेको जनाउँदै यो अवसरको फाइदा लिन पनि साहसिक खेल पारखीहरुलाई उनले आग्रह गरे ।
पोखरामा लामो समय बन्द रहेको प्याराग्लाइडिङ असोज १५ देखि व्यावसायिक उडान सुरु भएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए । ‘अघिपछि यो मौसममा आकाशभरि प्याराग्लाइडिङ उडानले छपक्कै हुन्थ्यो, हेर्दा पनि निकै आनन्द लाग्थ्यो, तर अहिले आन्तरिक केही पर्यटकमात्र उडेका छन् । लामो समयपछि शुरु भएको व्यावसायिक उडान केही आशा भने जगाएको छ,’ अध्यक्ष भण्डारीले भने ।
पोखरा र आसपासबाट साहसिक खेलमा रुचि राख्नेहरु प्याराग्लाइडिङका लागि पोखरा आउन थालेको उनको भनाइ छ । उनका अनुसार अहिले सहुलियत रुपमा प्याराग्लाइडिङ उडान गरिएको छ । पहिले सात हजार ५०० मा हुने उडान अहिले चार हजार ५०० देखि पाँच हजार सम्ममा पोखराको आकाशमा उड्न पाइनेछ । उनले बन्दाबन्दीपछि दैनिक एक सयदेखि १५० उडान हुन थालेको जानकारी दिए ।
पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन् । ३५० जना प्यारापाइलट छन् भने करिब एक अर्बको लगानी यस क्षेत्रमा रहेको छ । (रासस)
प्रकाशित समय १८:४४ बजे

















