गृहपृष्ठ नवौं राष्ट्रिय खेलकुदको पर्खाइमा पोखरा रंगशाला

नवौं राष्ट्रिय खेलकुदको पर्खाइमा पोखरा रंगशाला

नवनिर्मित स्टेडियमको कुल लागत एक अर्ब ८८ करोड ५० लाख रुपैयाँ

माछापुच्छ्रेको काखमा पोखरा रंगशाला । भौगोलिक र पर्यटकीय हिसाबले पनि पोखरा रंगशाला आकर्षक स्थानको रुपमा आफैं परिचित छ । पोखरा रंगशाला करिब चार सय रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नेपालको सन्दर्भमा फुटबल र क्रिकेट रंगशाला एकै ठाउँ कहीँ छ भने त्यो पोखरामा हो । यस रंगशालाभित्र रहेका प्रत्येक खेल मैदानबाट हिमालका मनमोहक दृश्यहरु देखापर्छ । अझभन्दा गण्डकी प्रदेशको राजधानी पोखरामा खेलकुद पर्यटन विकास गर्न सकिने सम्भावना प्रशस्त छ ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश ५ मा सम्पन्न भएको थियो जसमा दुई हजार ८२५ पुरुष तथा दुई हजार ३८६ महिला गरी जम्मा पाँच हजार २११ खेलाडीले सहभागिता जनाएका थिए । अबको नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशको राजधानी पोखरामा फागुनबाट हुने भएको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरा रंगशालामा आउटडोरअन्तर्गत हेन्डबल, फुटबल, आर्चरी, क्रिक्रेट, टेनिस, इस्क्वासका खेलहरुको पूर्वाधार निर्माणमा रहेका छन् भने इन्डोरका खेलहरुअन्तर्गत मार्सल आर्टका विभिन्न विधाका खेलहरु, ब्याडमिन्टन, जुडो रहेका छन् ।

नवनिर्मित फुटबल रंगशालाको लागत एक अर्ब ८८ करोड ५० लाख रहेको छ । जसअन्तर्गत रंगशालाको प्याराफिट, शाैचालय, फुटबल अभ्यास मैदान निर्माण सम्पन्न भएको छ भने पीइपी बिल्डिङ, बाटो, बिजुली जडान कार्य निर्माणको तयारीमा रहेका छन् । समग्रमा पोखरा रंगशाला फुटबल रंगशालाको ८७ प्रतिशत काम सम्पन्न भइसकेको रंगशाला इन्जिनियर प्रनिश ताम्राकारले बताए ।

कोभिड संक्रमणको बेलामा पनि रंगशालामा आएर खेल्न पाउँदा गर्व लागेका मुआथाई किक बक्सिङ कास्कीकी राष्ट्रिय खेलाडी सुष्मी श्रेष्ठले बताइन् । ‘प्रशिक्षण हल नहुँदा धेरै खेलहरु एकै ठाउँमा भएर गाह्रो हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो अवस्था हटेकोमा खुसी लागेको छ ।’

जिल्ला खेलकुद परिषद र पश्चिमाञ्चल खेलकुद विकास समितिबाट प्रशिक्षणको लागि आवश्यक पर्ने सामग्रीहरु पनि पाएको उनले बताइन् । राष्ट्रिय टिममा समेत सहभागी हुने उनी रंगशालामा दिइने प्रशिक्षण अपुग नरहेको उनको भनाइ छ ।

पछिल्लो समय गण्डकी प्रदेशको राजधानी पोखराबाट विभिन्न विधामा खेलाडीहरु उत्पादन भइरहेका छन् । जुन राष्ट्रिय स्तरका खेलमा समेत भाग लिइसकेका छन् । अन्तर्राष्ट्रिय मान्यताअनुसार धेरै खेलहरु एकै ठाउँमा प्रशिक्षण हुनु त्यति लोकप्रिय मानिदैन ।

सम्पूर्ण खेलका लागि छुटाछुट्टै प्रशिक्षण हल भएमा खेलाडीको लागि सहज हुने मुआथाई किक बक्सिङ कास्कीका प्रशिक्षक दीपक गोदारले बताए । ‘अन्तर्राष्ट्रिय रुपमा पनि कुनै पनि खेलमा सहभागी हुँदा प्रशिक्षण हल छुट्टै भएमा खेलाडीहरु राम्रोसँग सिक्न पाउँथे र अन्तर्राष्ट्रिय खेलहरुमा उभ्याउन पाउँथ्यौं तर, देशको परिस्थति बेग्लै छ,’ उनले भने ।

विगतमाभन्दा खेलकुदका लागि स्थानहरु बढिरहेका र अबको दिनमा पनि बढ्नसक्ने अवस्था रहेको उनको भनाइ छ । उनले भने, ‘हिजो एक जोड चप्पलको साथमा बाहिर चौरमा खेलिन्थ्यो भने अहिले म्याट ओछ्याएर हलमा खेलाउन पाउँदा खुसी लाग्छ ।’ आधारभूत तहको ट्रेनिङ हलभित्र गर्ने भएकाले समस्या नभएको तर, आउटडोरमा जाँदा खेलका पूर्वाधारहरु तयार नभएकोले खेलाडीहरु समस्यामा परेको उनको भनाइ छ । ‘रंगशालाभित्र बनिरहेका पूर्वाधारहरु प्रशिक्षणको लागि पर्याप्त भने पक्कै छैन,’ उनले भने ।

अधिकांश खेलहरुको पूर्वाधार निर्माण सम्पन्न भएको छ भने कुनै-कुनै खेलका पूर्वाधार निर्माणाधीन अवस्थाको अन्तिम चरणमा रहेको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय सचिव लक्ष्मण योगीले बताए । ‘बन्दै गरेका खेलका पूर्वाधारहरुअन्तर्गत स्विमिङ, क्रिकेट, फुटबल, सुटिङका पूर्वाधार निर्माणका क्रममा छ ।

आगामी हुने नवाैं राष्ट्रिय खेलकुदलाई लक्षित गरी पोखरा रंगशालामा बन्दै गरेका पूर्वाधारहरुलाई व्यवस्थित गर्ने जुटिरहेका छौं,’ उनले भने, ‘गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा केही खेलका पूर्वाधारहरु निर्माण सम्पन्न भइसकेका छन् र अपुरा खेलका पूर्वाधारहरु पनि यही आर्थिक वर्षमा सम्पन्न हुनेछ ।’

नवौं राष्ट्रिय खेलकुद पोखरा रंगशालामा हुने तय भइरहँदा पोखरा रंगशालाभित्र निर्माणाधीन अवस्थामा रहेका खेल पूर्वाधारको बारेमा बेलैमा सोच्नु जरुरी छ । पूर्वाधार सम्पन्न भएका खेलहरु पोखरा रंगशालामा हुनेछ भने अन्य खेलको व्यवस्थापनको लागि गण्डकी प्रदेशका ११ वटै जिल्लामा खेलका पूर्वाधारहरु बनिरहेका छन् ।

केही खेलका पूर्वाधारहरु बजेट अभावका कारण निर्माणमा ढिला भएको योगीको भनाइ छ । बजेट अपुगका कारण निर्माण ढिलाई भएका खेलका पूर्वाधारहरुलाई अबको आर्थिक वर्षभित्रका बजेटले समन्वय गरिने उनले बताए ।

निर्धारित समयमा स्विमिङ र सुटिङका खेल पूर्वाधार नबन्ने भएकाले उक्त खेलहरु नहुने उनको भनाइ छ । एकै ठाउँमा सम्पूर्ण खेलहरुको प्रशिक्षणलगायत खेल खेलाउँदा खेलाडीहरुबीच समन्वय हुने हुँदा सहज हुने उनको तर्क रहेको छ ।

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु