गृहपृष्ठ गत वर्षको अन्तिम चौमासिकपछि अर्थतन्त्रमा संकुचन : अर्थमन्त्रालय
गत वर्षको अन्तिम चौमासिकपछि अर्थतन्त्रमा संकुचन : अर्थमन्त्रालय
अर्थमन्त्रालयले अन्ततः गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम चौमासिक अवधिमा अर्थतन्त्र संकुचनमा गएको स्वीकार गरेको छ । नयाँ अर्थमन्त्री विष्णु पौडेलले पद बहाल गरेसँगै मन्त्रालयले गत आवको वार्षिक आर्थिक समीक्षा सार्वजनिक गरी अर्थतन्त्र संकुचनमा गएको बताएको हो ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको वार्षिक आर्थिक समीक्षाअनुसार गत आवको पहिलो ८ महिना अर्थात फागुन मसान्तसम्म कुल संघीय खर्च १२.८ प्रतिशतले बढेकोमा अन्तिम चौमासिक अवधि अर्थात चैतदेखि असार मसान्तसम्म लकडाउनका कारण कुल खर्च १५ प्रतिशतले घट्यो ।
कोभिड-१९ महामारीका कारण पछिल्लो चौमासिक अवधिमा अर्थतन्त्रमा प्रतिकूल प्रभाव परेको मन्त्रालयको वार्षिक समीक्षामा उल्लेख छ ।
कुल बजेट खर्चमध्ये प्रशासनिक काम, तलबभत्ता आदिमा खर्च हुने चालू खर्च लकडाउन अवलम्बन गरिएका चैतयता पनि बढेको देखिए पनि पुँजीगत खर्च अन्तिम चौमासिकमा ३७ प्रतिशतले घटेको अर्थमन्त्रालयले जनाएको छ ।
फागुनसम्म पनि पुँजीगत खर्चको वृद्धिदर केवल ६ प्रतिशतमात्रै थियो । यसले सरकारको कमजोर खर्च क्षमता देखाउँछ । अर्थतन्त्रमा सरकारले गर्ने खर्च कमजोर हुँदा त्यसले समग्र आर्थिक क्रियाकलापलाई पनि संकुचित तुल्याउँछ ।
चैतदेखि असारको अवधिमा सरकारले ऋणका साँवाब्याज तिर्ने, सार्वजनिक संस्थानहरूमा गर्ने लगानीसहितका कामका लागि छुट्याएको वित्तीय व्यवस्थाको बजेट पनि अघिल्लो वर्षभन्दा झन्डै ५२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ ।
साउनदेखि फागुनसम्म ४ खर्ब ९७ अर्ब रूपैयाँ कर राजस्व उठाएर करिब ९ प्रतिशतको वृद्धिदर हासिल भएकोमा चैतदेखि असारका बीचमा कर राजस्वको वृद्धिदर २८.१ प्रतिशतले ऋणात्मक रह्यो ।
गत आर्थिक वर्षमा ३० राजस्व वृद्धिदर हासिल गर्ने बजेटमा लक्ष्य राखिएको र विगत तीन वर्षयता औसत २० प्रतिशतको राजस्व वृद्धिदर हासिल हुँदै आएकोमा फागुनसम्मका तथ्यांकले सरकारका राजस्व उठाउने क्षमता पनि ह्रास भइसकेको देखाउँछ, चैतपछि कमजोर राजस्व असुलीमा कोभिड-१९ का नयाँ बहाना थपियो ।
अर्थमन्त्रालयले कोभिड-१९ को संक्रमणबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताएको छ। ‘विश्वका प्रायः सबै मुलुकहरूमा कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा सोको प्रत्यक्ष असर नेपालको पर्यटन व्यवसायमा परेको छ,’ मन्त्रालयको समीक्षामा भनिएको छ ।
मन्त्रालयले आव २०७६/७७ को पहिलो ८ महिनामा १३.८ प्रतिशतले पर्यटक आगमनमा कमी आएकोमा पछिल्लो चार महिनामा झन्डै सत प्रतिशतले कमी आएको बताएको छ । पर्यटकको आगमनमा कमीसँगै पर्यटन आय पनि घटेको छ, अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा प्रतिदिन पयर्टक खर्च ५४ अमेरिकी डलर रहेकोमा गत आर्थिक वर्षमा ११ प्रतिशतले गिरावट आइ ४८ डलरमा झरेको अर्थमन्त्रालयको समीक्षामा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा पर्यटन आयमा १९ प्रतिशतले गिरावट आइ ६० अर्ब ८८ करोड रूपैयाँमा झरेको छ, अघिल्लो वर्ष ७५ अर्ब ३४ करोड रूपैयाँ पर्यटनबाट आर्जन भएको थियो ।
गत आर्थिक वर्षको पहिलो ८ महिनामा कुल नै आयात २.६ प्रतिशत घटिसकेको अवस्थामा लकडाउनपछिका पछिल्ला ४ महिनामा ४१.९ प्रतिशतले घटेको अर्थमन्त्रालयको समीक्षामा उल्लेख छ ।
यस्तै समग्र निर्यात पहिलो ८ महिनामा २२.३ प्रतिशतले बढेकोमा चैतपछि ३६.५ प्रतिशतले घटेको अर्थमन्त्रालयले उल्लेख गरेको छ । यसरी, समग्र बाह्य व्यापार १६.८ प्रतिशतले संकुचित हुँदा गत वर्ष उद्योग दर्ता पनि करिब २७ प्रतिशतले घटेको छ । चैतभन्दा अगाडि नै उद्योग दर्ता लगातार घट्दै गएको अर्थमन्त्रालयको समीक्षामा उल्लेख छ । नयाँ उद्योग स्थापना हुने क्रम ठप्प हुनु र अन्तर्राष्ट्रिय व्यापारमा ठूलो संकुचन हुनु अर्थतन्त्रमा मन्दीको संकेत हो ।
समग्र आर्थिक क्रियाकलाप नै पूरै संकुचित भएको स्वीकार गरे पनि अर्थमन्त्रालयले वैशाख १५ सम्मका अपरिस्कृत तथ्यांकका आधारमा केन्द्रीय तथ्यांक विभागले अनुमान गरेको २.३ प्रतिशतकै आर्थिक वृद्धिदर हासिल हुने जनाएको छ ।
प्रकाशित समय १५:५३ बजे

















