गृहपृष्ठ एनआईसी एसियाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

एनआईसी एसियाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

nicasia nic asia bank

एनआईसी एसिया बैंकले सेयरधनीहरूलाई २० प्रतिशत लाभांश बाँड्ने भएको छ । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले  आ.व. २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट बैंकको चुक्ता पुँजीको २० प्रतिशत लाभांश (रू. १ अर्ब ९४ करोड ३५ लाख) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बैठकले  प्रस्तावित लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांशको  कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको  बैंकले जनाएको छ । यसरी बैंकले बोनस सेयरबापत  १ अर्ब ८४ करोड ६३ लाख र नगद लाभांशको  कर प्रयोजनार्थबापत ९ करोड ७२ लाख रूपैयाँ छुट्याएको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् आवश्यक नियमनकारी प्रक्रिया पुरा गरी बैंकका शेयरधनीलाई वितरण गरिने जनाइएको छ ।

बैंकले गत आ.व. २०७६/७७ मा प्रतिसेयर आम्दानी रू. ३१.८९ आर्जन गर्न सफल भएको थियो भने खुद मुनाफातर्फ  २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धिसहित रू. ३ अर्ब ९ करोड आर्जन गर्न सफल भएको जनाएको छ।

बैंकको स्व–पुँजीमा प्रतिफल (आरओइ) ९.२६ प्रतिशत रहेकाे भन्दै  स्व–पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको बैंकले दाबी गरेको छ ।

बैंकको आ.व. २०७६/७७ मा कुल कर्जामा बजार अंश ६.२० प्रतिशत छ भने वार्षिक बिन्दुगत आधारमा रू. २४ अर्बले वृद्धि गरी कुल कर्जा रकम  १ खर्ब ७४ अर्ब पुगेको  जनाइएको छ । जुन वाणिज्य बैंकहरूको गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल कर्जा वृद्धि रकमको ७.४१ प्रतिशत हो।

समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १३ प्रतिशत (करिब ३ खर्ब २१ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले कर्जा वृद्धि भएकोमा बैंकले १६ प्रतिशत (रू. २४ अर्ब) ले कर्जा वृद्धि गर्न सफल भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो वाणिज्य बैंकहरूले गत आर्थिक वर्षमा गरेको वृद्धि मध्ये सबैभन्दा उच्चतम वृद्धि भएको बैंकको दाबी छ

बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ गत आर्थिक वर्षको अन्त्यमा बजार अंश ६.२० प्रतिशत रहेको छ भने वार्षिक बिन्दुगत आधारमा रू.३८ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन रू. २ खर्ब ११ अर्ब पुगेको बैंकले जानकारी दिएको छ ।

यो स्वदेशी मुद्राको निक्षेप वाणिज्य बैंकहरूमा गत आर्थिक वर्ष ०७६/०७७ मा भएको कुल वृद्धिको ७.३ प्रतिशत हो ।  समग्र वाणिज्य बैंकहरूमा गत आर्थिक वर्षमा १६ प्रतिशत (करिब रू.४ खर्ब ८३ अर्ब मर्जरको कारणले भएको वृद्धि समायोजन पश्चात्) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि भएकोमा एनआइसी बैंकले २२.५० प्रतिशत (रू.३८ अर्ब) ले स्वदेशी मुद्राको निक्षेप वृद्धि गर्न सफल भएको बैंकको भनाइ छ ।

बैंकले आफ्नो रणनीति अनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्य अनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला कर्जा, रिटेल कर्जा र प्रत्यक्ष विपन्न वर्ग कर्जामा रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको जनाएको छ ।

प्रमुख १० ग्राहकको कुल कर्जा अंश बैंकको कुल कर्जाको ५ प्रतिशत भन्दा कम भएको भन्दै बैंकले यो  समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये भएको दाबी गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले चल्ती तथा बचत निक्षेपमा  रू. २२.१२ अर्बले वृद्धि गरी सीएएसए मिश्रणको ४५ प्रतिशत पुर्‍याउन सफल भएको दाबी गरिएको छ, यो समग्र वाणिज्य बैंकहरूको औसत करिब ४४ प्रतिशतको तुलनामा १ प्रतिशत विन्दुले बढी हो ।

बैंकले निक्षेप तर्फ पनि साना साना निक्षेप एवम् व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्वन गरी अगाडि बढिरहेको विज्ञप्तिमा उल्लेख छ । ‘ जसको परिणाम स्वरूप प्रमुख १० निक्षेपकर्ताहरूको अंश बैंकको कुल निक्षेपमा केबल १० प्रतिशत मात्रै छ, जुन बैंकिङ क्षेत्रकै उत्कृष्ट मानिन्छ,’ बैंकको विज्ञप्तिमा भनिएको छ ।

मुलुकभर ३२७ शाखा कार्यालय, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउन्टर र ७० वटा शाखा रहित बैंकिङसहित  एनआइसी मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको दाबी गरिएको छ ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु