गृहपृष्ठ यो वर्ष भारतबाट खसी-बोका आयात भएन
यो वर्ष भारतबाट खसी-बोका आयात भएन
असोजमा १ खर्ब १३ अर्बको आयात, १० अर्बको निर्यात
हरेक वर्षको दसैंमा देशभित्रका आन्तरिक रूपमा पालन गरिएका खसी-बोकाले नपुगेर भारतबाट आयात हुने गरेकोमा यो वर्ष कोरोना भाइरस महामारीसँगै नेपालले लागू गरेको क्वारेन्टिन व्यवस्थाले खसीबोका आयात भएन ।
भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको असोजसम्म ९ हजार ३५६ वटा खसी-बोका भारतबाट आयात भएकोमा यो वर्ष एउटा पनि खसी आयात भएको छैन ।
भारतबाट ल्याइने खसी-बोकाको स्वास्थ्य प्रमाणपत्र अनिवार्य गरेर आयात गर्न दिने व्यवस्था लागू गरेपछि त्यसको असर औपचारिक माध्यमबाट हुने खसीबोका आयातमा परेको हो ।
यद्यपि, सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले भने यस वर्ष भारतबाट पनि खसी-बोका आएको बताउनुले औपचारिक माध्यमबाट भन्दा चोरीपैठारीबाट भारतीय खसी-बोका नेपाली बजारमा भित्रिएको देखिन्छ ।
व्यापारीहरूका अनुसार अहिले बिनाकुनै परीक्षण दैनिक ४ सयदेखि ५ सयसम्म खसी-बोका भारतबाट आइरहेको छ । भन्सार विभागका एक अधिकारीले कात्तिकमा सानो संख्यामा खसी-बोका आएको भए पनि तथ्यांक अभिलेखित भइनसकेको बताए ।
२४ हजार किलो राँगा–भैंसीको मासु आयात
खसीबोका आयात नभए पनि असोजसम्म भारतबाट २४ हजार किलो राँगा-भैंसीको मासु (बोभिन मिट) आयात भएको भन्सार विभागको तथ्यांकबाट देखिन्छ, गत वर्ष यही अवधिमा २२ हजार ६२० किलो यस्तो मासु आयात भएको थियो । नेपालका पाँच तारे र पर्यटकस्तरीय होटल तथा यहाँ रहेका विदेशी कुटनीतिक नियोगहरूमा यस्तो मासुको बढी माग बढी छ ।
नेपालमा गाईगोरूको मासु (बिफ) प्रतिबन्धित भएकाले ‘बोभिन मिट’का नाममा यस्तो मासु आयात भइरहेको हुनसक्ने जानकारहरू बताउँछन्, किनकी केही पर्यटकस्तरीय होटलहरूमा पर्यटकको मागअनुसार ‘बिफ’ पनि पाक्ने गरेको छ ।
गत चैतदेखि लगाइएको लकडाउनका कारण पर्यटक आगमन ठप्प भएको बेला हड्डीरहित राँगा-भैंसीको मासुको आयात गत वर्षका तुलनामा आश्चर्यजनक ढंगले बढेको देखिएको छ ।
नेपालको निर्यात भने घट्यो
गत आर्थिक वर्षको असोज मसान्तसम्म नेपालबाट १ लाख ९६ हजार ६५ किलो राँगा-भैंसीको मासु (फ्रोजेन बोनलेस बोभिन मिट) निर्यात भएकोमा यो वर्ष केबल २८ हजार ४० किलोमात्र निर्यात भएको छ । नेपालले २८ हजार किलो ‘बोभिन मिट’ निर्यात गर्दा जम्मा ८ लाख ९७ हजार रूपैयाँमात्र आर्जन गरेकोमा समान किसिमको मासु भारतबाट आयात गर्दा ३७ लाख ६२ हजार रूपैयाँ खर्च गरेको छ ।
असोजमा १ खर्ब १३ अर्बको आयात, १० अर्बको निर्यात
भन्सार विभागका अनुसार चाडपर्वलक्षित आयातका कारण असोजमा मात्र १ खर्ब १३ अर्ब ४२ करोड रूपैयाँबराबरको आयात भएको छ भने १० अर्ब ६० करोड रूपैयाँबराबरको वस्तु निर्यात भएको छ । साउनदेखि असोजसम्मको त्रैमासिक अवधिमा कुल २ खर्ब ९२ रूपैयाँको आयात हुँदा ३१ अर्ब रूपैयाँको मात्र निर्यात भएको छ ।
आयातका तुलनामा निर्यात कमजोर हुँदा नेपालको व्यापार घाटा २ खर्ब ६१ अर्ब रूपैयाँ पुगेको छ । यसमध्ये प्रमुख व्यापार साझेदार भारतसँगको व्यापार घाटा १ खर्ब ७२ अर्ब २९ करोड रूपैयाँ छ ।
असोजसम्म भारतबाट झन्डै १ खर्ब ९३ अर्ब ६३ करोडको आयात हुँदा नेपालको भारततर्फको निर्यात २१ अर्ब ३३ करोड रूपैयाँबराबरमात्र छ । यस्तै, चीनबाट ४३ अर्ब ३२ करोड रूपैयाँको आयात हुँदा नेपालबाट २१ करोड १४ लाख रूपैयाँको मात्र निर्यात भएको छ ।
प्रमुख व्यापारिक साझेदारमध्ये भारतबाट हुने आयात पहिलो त्रैमासिक अवधिमा ६.६४ प्रतिशतले घटेको हो भने चीनबाट हुने आयात झन्डै २७ प्रतिशतले घटेको हो । पहिलो त्रैमासिक अवधिमा कुल आयात औसत १२.७४ प्रतिशतले घटेको छ ।
चीनको आयात क्रमिक सुधार
कोभिड–१९ बाहेक मुख्य व्यापारिक नाकाहरूमा उत्पन्न समस्याका कारण खुम्चिएको चीनसँगको आयात व्यापारमा क्रमिक सुधार भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
साउनमा चीनबाट ११ अर्ब १७ करोड रूपैयाँको वस्तु आयात भएकोमा भदौमा १३ अर्ब १३ करोडको र असोजमा १९ अर्ब रूपैयाँको वस्तु आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
विभागका अनुसार तातोपानी नाकाबाट साउनमा १५ करोड २ लाख रूपैयाँ मूल्यबराबरको र रसुवा नाकाबाट ९७ करोड ७५ लाख रूपैयाँ मूल्यबराबरको वस्तु आयात भएकोमा असोजसम्म तातोपानीबाट २५ करोड ९४ लाख रूपैयाँबराबरको र रसुवा नाकाबाट २ अर्ब १६ करोड ७६ लाख रूपैयाँबराबरको वस्तु आयात भएको छ ।
यी दुई स्थलगत नाकाबाहेक चीनबाट हुने अधिकांस आयात क्वान्चौ (ग्वान्झाउ) बाट भारतका कोलकाता-हल्दिया बन्दरगाहमार्फत समुद्री मार्ग र केही हवाई मार्गबाट पनि हुने गरेको छ ।
प्रकाशित समय १२:४१ बजे

















