गृहपृष्ठ कोरोनाले आय गुमाएपछि डेढ खर्बको दसैँ सुनसान
कोरोनाले आय गुमाएपछि डेढ खर्बको दसैँ सुनसान
सांकेतिक तस्बिर
नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने प्रमुख तीन पर्वहरू बडादसैँ, तिहार र छठ आगनमै रहँदासमेत यस पटक घरआगनहरू सुनसान बनेका छन् ।
कोरोना भाइरसको महामारीसँगै आर्थिक महामन्दीले नेपालीहरूको खल्ती रित्तो भएको छ । सरकारी कर्मचारी, सेना-प्रहरी र निजी क्षेत्रका प्रतिष्ठानहरूमा कार्यरत जागिरेहरूले पाउने करिब ६० अर्ब रूपैयाँबराबरको चाडपर्व खर्च र विदेशबाट यही बेलामा भित्रने औसत ७० अर्ब रूपैयाँबराबरकै रेमिट्यान्स र अनौपचारिक क्षेत्रका साना किसान/पशुपालक, लघु उद्यमी-व्यवसायीदेखि तिनै क्षेत्रमा काम गर्ने श्रमिकहरूले समेत आफूसँग रहेको बचतबाट करिब २५ अर्ब रूपैयाँजति झिकेर दसैँ, तिहार, छठलाई चलायमान बनाउँथे ।
यो वर्ष गत चैतदेखि लगाइएको लकडाउनका कारण अनौपचारिक क्षेत्र पूरै ठप्प भयो । विश्व बैंकका अनुसार लामो अवधिका लकडाउनका कारण १ करोड ३० लाख नेपालीको जीविकोपार्जनमा संकट उत्पन्न भएको छ, यीमध्ये यसमध्ये निर्वाहमुखी कृषिमा ७१ लाख र अनौपचारिक क्षेत्रमा ५९ लाख नेपाली संलग्न छन् ।
दसैँ, तिहार, छठका बेला साना किसानहरूले आफूले पालेका खसीबोकादेखि विभिन्न फलफूल, धान-चामल बेचेर चाड खर्च जुटाउँथे । दसैँका बेलामात्र उपत्यकामा करिब ४० हजार खसीबोका खपत हुन्थ्यो भने देशभरिमा करिब १ लाखजति खसीबोका खपत हुने गरेको थियो । यस्तै, तिहार र छठमा विभिन्न किसिमका फलफूलको माग बढ्दा त्यसले साना किसानहरूको वर्षदिनभरिको खर्च जुटाउँथे ।
यस वर्ष ठूलादेखि सानासम्मका सबै बजारहरू सुनसान छन्, किसानको उपज बिकेको छैन । विगतका वर्षहरूमा वैदेशिक रोजगारदेखि आन्तरिक रोजगारीका लागि समेत अन्य ठाउँमा पुगेकाहरू गाउँघर फर्केर कारोबार गर्दा ग्रामीण बजारहरू गुल्जार हुन्थे । तर, अहिले कोरोना भाइरस महामारीले चहलपहल सून्य भएका छन् ।
आमनागरिकको क्रयशक्ति घट्दा बजारमा किनमेल घटेको हो । यसको प्रत्यक्ष असरले गर्दा विगतका वर्षहरूमा थामिनसक्नु भीड हुने लत्ताकपडा, खाद्यान्न र पेयका पसलहरू सुनसानजस्तै देखिएका छन् ।
झन्डै ९ लाख लघु, घरेलु साना तथा मझौला उद्योग-व्यवसाय (एमएसएमई)हरू अहिलेको आर्थिक मन्दीबाट सर्वाधिक प्रभावित भएका छन्, यस्ता लघु तथा साना उद्योग-व्यवसायमा झन्डै ३७ लाख नेपालीहरू संलग्न थिए ।
झन्डै ६ महिनादेखि व्यापार-व्यवसाय ठप्प हुँदा नेपाली अर्थतन्त्रको यो मेरुदण्ड अहिले प्यारालाइज भएको छ । ‘पसल खोल्नुमात्रै परेको छ, ग्राहकहरू आउने होइनन,’ कपनका व्यवसायी श्याम शर्माले भने, ‘गत वर्षका दसैँका तुलनामा अहिले १० प्रतिशत पनि कारोबार भएको छैन ।’
शर्माको जस्तै अनुभव प्रायः सबैतिरका व्यवसायीहरूले व्यक्त गरेका छन् । विगतमा दसैँका बेला नियमित तालिकाको बसले यात्रु बोक्न नभ्याएर यसबेला अतिरिक्त सवारीसाधन पनि सञ्चालन हुन्थे, जसका लागि अग्रीम टिकट किन्नु पर्थ्यो ।
‘यस पटक यात्रु नभएर तेलका खर्च, स्टाफका खर्चसमेत उठाउन नसक्ने अवस्था छ,’ बस व्यवसायी कृष्णकुमार भण्डारीले भने । यातायात क्षेत्रमा मात्र करिब १० लाख कर्मचारी-कामदारहरू कार्यरत छन् । ५ महिनाभन्दा लामो अवधिसम्म सार्वजनिक सवारी साधन नचल्दा ती श्रमशक्ति अहिले आय सून्यका अवस्थामा पुगेका छन् ।
‘वर्तमान आर्थिक संकटले विशेषतः उपभोगलाई संकुचित तुल्याएको छ, जसका कारणले समग्र आर्थिक वृद्धिदरलाई तलतिर घचेड्न सक्छ, ,’ अर्थविद् डा. शंकर शर्माले भने, ‘नेपालको अर्थतन्त्रमा पछिल्लो समयमा सरकारी र निजी दुवै लगानी संकुचित भएको छ । लगानी पनि खुम्चिएको समयमा उपभोगसमेत कमजोर हुनुले समग्र आर्थिक वृद्धिलाई नै असर पार्छ ।’
कोरोनानजित आर्थिक संकटले आमनागरिकहरूको आयआर्जन र जीविकोपार्जनमा असर पार्दा त्यसले गरिबीको रेखाआसपासका नागरिकहरूलाई पुनः गरिबीमा धकेलेकाले चाडबाडमा हुने खर्च संकुचित भएको डा. शर्माको निष्कर्ष छ ।
कोरोनाजनित आर्थिक मन्दीले गत आर्थिक वर्षको अन्तिम चौमासिक अवधिमा नेपालको अर्थतन्त्रलाई गम्भीर धक्का दिएकाले समग्र आर्थिक वृद्धिदर ऋणात्मक भइसकेको उल्लेख गर्दै अर्थविद् डा. शर्माले यसको असर चालू आर्थिक वर्षको पहिलो अर्धवार्षिक अवधिमा अझ गहिरो पर्ने देखिएको बताए ।
‘अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूले गर्ने प्रक्षेपणमा आआफ्नो विधि उपयोग गर्ने भएकाले केही फरक हुनसक्छ, तर यसबीचमा नेपालमा लगानी र उपभोगका प्रवृत्ति कता जान्छ भन्ने कुरा नजिकबाट हेरिरहेका छौँ, अर्थतन्त्र प्रक्षेपणहरूभन्दा अझ ठूलो रूपमा संकुचित हुनसक्छ,’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शर्माले भने ।
प्रकाशित समय ०९:२९ बजे

















