गृहपृष्ठ किसानलाई ‘सदाबहार’ मलकै सास्ती
किसानलाई ‘सदाबहार’ मलकै सास्ती
'सरकारले कृषिबाटै आर्थिक सम्बृद्धि ल्याउँछौं भनेर दाबी गर्नु निरर्थक'
वर्खे बाली अर्थात् धान काटेर भित्र्याइसकेपछि किसानहरु तोरी तथा गहुँ छर्ने तयारीमा छन् । तर, यसै बेला रासायनिक मलको अभाव भएपछि किसानहरुलाई हिउँदे बाली कसरी लगाउने भन्ने चिन्ता बढेको छ । हरेक वर्ष खेती गर्ने समयमा मल अभावको समस्या खेप्दै आएका किसानहरु कोरोना प्रकोपका कारण यस वर्ष झन् मारमा परेका छन् ।
रासायनिक मल अभावको विषय कुनै नौलो कुरो त होइन । किसानले वर्षेनी यस्तै रासायनिक मलको अभाव खेप्दै आएका छन् । झन् यस वर्ष कोरोना कहरका कारण किसान मर्कामा परेका छन् । कोरोना महामारी फैलिन नदिन विभिन्न मुलुकले गरेको लकडाउनका कारण रासायनिक मल आयातमा प्रभाव परेको छ । यसका कारण किसानले समयमै रासायनिक मल पाउन सकेका छैनन् । कैलालीका किसानहरु यतिबेला धान भित्र्याइसकेर तोरी तथा गहुँ छर्ने तयारीमा छन् ।
हिउँदे बाली छर्न ढिला भइसक्दा पनि रासायनिक मलकै पर्खामा रहेको धनगढी उप-महानगरपालिका ३ का पृथ्वी राना बताउँछन् । ‘वर्षभरी खेतीपातीमै व्यस्त रहन्छौं,’ उनले भने, ‘खेती लाउने समयमा सहज रुपमा मल उपलब्ध नहुँदा निकै समस्या झेल्नुपर्छ ।’
सरकारले कृषिबाटै आर्थिक सम्बृद्धि ल्याउँछौं भनेर दाबी गरिरहेको छ । धनगढीका कन्नु रानाले भने, ‘यसरी केको आर्थिक सम्बृद्धि उल्टै पेसा छोड्नुपर्ला जस्तै भइसक्यो । किसानलाई राहत तथा अनुदानका कार्यक्रम ल्याउनु त परै जावस् समयमा मलसमेत उपलब्ध हुँदैन ।’ उनले दुखेसो पोखे ।
मलको व्यवस्था गरिदिन किसानहरु स्थानीय जनप्रतिनिधि कहाँ दैनिक पुगिरहेका हुन्छन् । सहकारी संस्थामार्फत् उपलब्ध हुने मल गहुँ छर्ने समयसम्म आउने कुनै ठेगान नभएपछि किसानहरुले जनप्रतिनिधिलाई मल ल्याउन पहल गरिदिन माग गरिरहेका छन् । स्थानीय जनप्रतिनिधिले पनि सरकारको कमजोरीकै कारण मल आयातमा ढिला हुने गरेको स्वीकारेका छन् । किसानले सहज रुपमा मलनै नपाएपछि कृषिबाटै आर्थिक सम्बृद्धि ल्याउने नारा नारामै सिमित रहने धनगढी उप–महानगरपालिका ३ का अध्यक्ष बलबहादुर ऐरको भनाई छ ।
‘किसान मलका लागि पहल गरिदिन आग्रह गर्दै म कहाँ आउँछन्,’ उनले भने, ‘म पनि मलका बारेमा बुझ्न सम्बन्धित कार्यालय गइरहेको छु । तर, त्यहाँको मान्छेले तिहारपछि मल आउँछ भन्छन् ।’ तिहारपछि हिउँदे बालीसँगै किसानले सबै तरकारी लगाइसक्ने उनले बताए । उनका अनुसार ढिलाई गरी ल्याएको मल काम हुँदैन । यस्ता विषयमा सरकार गम्भीर बन्नुपर्ने अध्यक्ष ऐरको भनाई छ ।
सरकारी अनुदानको मल बिक्री गर्ने कृषि सामग्री कम्पनीको सुदूरपश्चिम प्रादेशिक कार्यालयको गोदाममा अहिले रासायनिक मल मौज्दात छैन । लकडाउनदेखिनै रासायनिक मल आउन नसकेको कार्यालयले जनाएको छ । किसानको मागअनुसार मल ल्याउन नसकेको स्वीकार गर्दै कार्यालय प्रमुख नवलसिं बोगटीले कार्तिक अन्तिमसम्म रासायनिक मल उपलब्ध हुने दाबी गरे ।
मल अभावले किसानलाई सताएको कुरा जनप्रतिनिधिदेखि उच्च तहमा रहेका नेता र कर्मचारी सबैलाई जानकारी नभएको होइन । तर, अहिलेसम्म नत समयमै आपूर्ति गर्न सकेको छ । नत यसको विकल्पनै खोज्न सकेको छ ।
प्रकाशित समय ०८:४० बजे
















