गृहपृष्ठ कृषिका लागि विश्व बैंकको झन्डै साढे ९ अर्बको परियोजना

कृषिका लागि विश्व बैंकको झन्डै साढे ९ अर्बको परियोजना

World Bank_NewsKarobar

विश्व बैंकले ग्रामीण बजार सम्बन्ध सुदृढीकरण र उद्यमशीलतालाई बढावा दिँदै रोजगारी प्रवर्धनमार्फत कोभिड-१९ पछिको पुनर्बहालीमा सहयोग पुर्‍याउने उद्देश्यसहित कृषि क्षेत्रको सशक्तीकरणका लागि करिब ९ अर्ब ४४ करोड रूपैयाँ (८ करोड अमेरिकी डलर)को परियोजना स्वीकृत गरेको छ ।

ग्रामीण उद्यम तथा आर्थिक विकास (आरईईडी) परियोजनाले विशेषतः महिला नेतृत्वमा ग्रामीण उद्यमहरूको वृद्धिका लागि बजार अन्तरसम्बन्ध विकासलाई प्रवर्धन गर्ने बैंकले जनाएको छ । यसले मूल्य अभिवृद्धिसहित रोजगारी सिर्जना गर्न र साना-स्वामित्व भएका उत्पादक र संस्थागत क्रेताहरूबीच स्थायी सम्बन्ध बनाउँदै उत्पादक साझेदारीमा ध्यान दिने बैंकको भनाइ छ ।

परियोजना प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम समेट्ने पाँच आर्थिक कोरिडोरहरूमा केन्द्रित रहने बैंकले जनाएको छ । बैंकका अनुसार परियोजनाले प्रान्तीय र स्थानीय सरकार, मध्यस्थकर्ता संस्था र साना तथा मझौला उद्यमहरूसँग मिलेर कृषि क्षेत्रमा क्षमता अभिवृद्धि र उद्यमशीलताको पर्याप्रणालीलाई सुदृढीकरण गर्ने छ।

‘यो परियोजना सरकार र निजी क्षेत्रका लागि कृषि क्षेत्रमा ‘नेपाल’ ब्रान्ड बनाउने र देशको विश्वव्यापी पहिचानको लाभ प्राप्त गर्ने अवसर हो, ‘ नेपाल, माल्दिभ्स र श्रीलंकाका विश्व बैंकका निर्देशक फरिस हदद-जर्भोसले भने, ‘ यसका लागि परियोजनाले कफी, चिया, फलफूल र औषधी उत्पादनहरू जस्ता क्षेत्रलाई उत्प्रेरित गर्न, तिनको वृद्धिमा मद्दत गर्न र कोभिड-१९ पछिको पुनर्बहालीमा सहयोग गर्न सक्छ ।’

प्रकाशित समय १२:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु