गृहपृष्ठ आगन्तुक तान्दै मूर्तिकला संग्रहालय

आगन्तुक तान्दै मूर्तिकला संग्रहालय

दसैँ मनाउन बुटवलदेखि गलकोट आएकी रञ्जिता परियारले यो वर्ष घुमफिरका लागि नजिकको गन्तव्य टेउवालाई रोजे । दसैँको भोलिपल्टै परियार र उनका साथीहरुले टेउवालाई लक्ष्य बनाए ।
घरदेखि झन्ड दुई घण्टा पैदलै हिँडेर उनीहरु टेउवा पुगे । त्यहाँको प्राकृतिक सौन्दर्यमा रमाए । निर्माणाधीन मूर्तिकला संग्रहालय अवलोकन गरे । दिनभरजसो त्यतै भुले । यसअघि सामाजिक सञ्जालमा टेउवाको फोटो/भिडियो हेर्दा परियारलाई त्यहाँ कहिले पुगौँ जस्तो भइरहेको थियो ।

दसैँ बिदामा उनको धोको पुरा भएरै छाड्यो । ‘यहाँको बारेमा फेसबुकबाट थाहा पाएकी थिएँ, साथीहरुले पनि भनिरहन्थे,’ परियारले भने, ‘आज आफैं घुम्ने मौका मिल्यो, रमाइलो र आर्कषक ठाउँ रहेछ ।’ बेलाबेला गलकोटको पुख्र्यौली घर आउने गरे पनि उनी अहिलेसम्म टेउवा पुगेका थिएन ।

गलकोट नगरपालिका–५ मा अवस्थित टेउवा केही वर्ष अघिसम्म गुमनाम प्रायः थियो । फाटफुट्ट घुम्न र वनभोजस्थलका रुपमा मात्र त्यो ठाउँको नाम आउँथ्यो । तर, गत फागुनयता भने टेउवा एकाएक चर्चामा आयो । एकहजार ९८० मिटरको उचाइमा रहेको टेउवाको परिचय नै फेरियो । टेउवामा खुला मूर्तिकला संग्रहालयसहित ललितकलाको अनुसन्धान केन्द्र बनाउने लक्ष्य राखेर फागुन ५ देखि २१ गतेसम्म अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला आयोजना गरिएको थियो । उक्त कार्यशालापछि टेउवाले प्रकृति र कलाप्रेमी आगन्तुकलाई लोभ्याउन थालेको छ ।

देश विदेशका प्रसिद्ध कलाकारले कुँदेका मूर्तिकलाका अमूल्य कृतिलाई दसैँको सम्मुख पारेर संग्रहालयमा प्रतिस्थापन गरिएको थियो । निर्माणाधीन संग्रहालयमा १० देशका १५ मूर्तिकारले कुँदेका ढुंगाका मूर्ति छन् । पर्वको याम सुरु भएसँगै मूर्तिकला अवलोकनमा आउनेको संख्या बढेको गलकोट कला प्रतिष्ठानले जनाएको छ ।

‘दैनिक सयौँको संख्यामा आइरहेका छन्, कोही त गाडी नै रिर्जभ गरेर आउँछन्,’ प्रतिष्ठानका सदस्य एवं स्थानीयवासी झंकबहादुर बस्नेतले भने । संग्रहालय घुम्नका लागि अधिकांश सार्वजनिक बिदाको दिन पारेर आउँछन् । गलकोटबाहेक बाहिरका ठाउँबाटसमेत आगन्तुक आउन सुरु गरेका छन् ।

गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्षसमेत रहेका बस्नेतले मूर्तिकला संग्रहालयले पर्यटन प्रवर्द्धनमा सघाउने विश्वास व्यक्त गरे । ‘संग्रहालयले पूर्णता पाउँदासम्म यो एउटा आकर्षक गन्तव्यस्थलका रुपमा विकास हुन्छ,’ उनले भने । आगन्तुकको आउजाउ बढ्न थालेपछि बस्नेतले पसल र खाजाघर खोल्ने तयारीमा छन् । प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर रानाले अवलोकनकर्ताको प्रवेशलाई व्यवस्थित बनाउन छिट्टै टिकट प्रणाली सुरु गर्ने तयारी भइरहेको बताए ।

‘मूर्तिकला अवलोकनका लागि मानिसहरु आइरहेका छन्, तत्काल प्रवेशद्वार र टिकटकक्ष बनाएर व्यवस्थित गर्नुपर्ने भएको छ,’ उनले भने । संग्रहालयमा मूर्ति मात्र प्रतिस्थापन गरिएको र अन्य पूर्वाधार तयारीका काम गर्न बाँकी नै रहेको अध्यक्ष रानाले बताए । कोभिड–१९ का कारण कार्यशाला सकिएको महिनौँ बित्दासमेत मूर्तिको प्रतिस्थापन हुन सकेको थिएन ।

संरचना निर्माणमा ढिलाइ हुँदा मूर्ति संरक्षणमा चुनौती थपिएको थियो । अब भने १५ वटै मूर्तिलाई अलग–अलग ठाउँमा बनेका स्थायी संरचनामा प्रतिस्थापन गरिएको छ । मूर्तिको शीर्षक दिने, विवरण राख्ने, बगैँचा, फुटपाथ निर्माणलगायत साजसज्जाको काम यथाशक्य चाँडो सम्पन्न गरिने प्रतिष्ठानले जनाएको छ । बहुवर्षीय योजना भएकाले ‘डीपीआर’ अनुसार क्रमिक रुपमा काम अघि बढ्ने छ । कार्यशालामा सहभागी मूर्तिकारको कला र व्यक्तित्व समेटिएको पुस्तिका पनि प्रकाशन हुँदैछ ।

संग्रहालय परिसरमा घेराबार, शौचालय, सडक, बिजुली, खानेपानी पुर्‍याउने काम यसअघि नै भइसकेको छ । संग्रहालयमा नेपालका कलाकार प्रविण श्रेष्ठ, ओम खत्री, राजन काफ्ले, बुद्ध चौधरी र राजु पिठाकोटेले कुँदेको मूर्ति छ । यस्तै जापानका जुनीचिरो सगीमोतो, चीनका ल्यू याङ्ग, इटालीका बेतीनो फ्रान्सेनी, फ्रान्सका जिवियर गोञ्जालेज र ताइवानका लिन लि जेन, क्यानाडीकी जुली ग्लास्पी, भारतका टुटु पटनायक, इजरायलकी तान्या प्रिमेन्जर, ब्राजिलका जर्ज लुइज सोडर र युक्रेनका मूर्तिकार ल्यूडमाइला माइस्कोको मूर्ति राखिएको छ ।

मूर्त, अर्धमूर्त र अमूर्त रुपमा कुँदिएका मूर्तिले प्रकृति, जीवनचक्र, संस्कृति र सभ्यतालाई प्रतिविम्वित गरेका छन् । खुला प्रकृतिको संग्रहालय भएकाले मूर्ति अवलोकनमा बेग्लै आकर्षण थपिएको छ । पर्यटकीय लेक घुम्टेको काखमा बन्दै गरेको संग्रहालयबाट अन्नपूर्ण, माछापुच्छ्रेलगायतका हिमश्रृङ्खलासमेत हेर्न सकिन्छ । बागलुङ सदरमुकामदेखि गलकोट ४५ किमि दुरीमा छ । गलकोट, हटिया बजारदेखि ४५ मिनेट कच्ची सडकको यात्रापछि संग्रहालय पुगिन्छ । पैदल हिँडे झण्डै दुई घण्टा । त्यहाँ जाँदा ऐतिहासिक गलकोट दरबार, गाईघाटको झरनालगायतका पर्यटकीयस्थल घुम्न सकिन्छ । (रासस)

प्रकाशित समय ०९:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु