गृहपृष्ठ नेकपा अध्यक्षद्वय पाँच दिनपछि भेटवार्तामा जुटे

नेकपा अध्यक्षद्वय पाँच दिनपछि भेटवार्तामा जुटे

पार्टीको आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुन: भेटवार्तामा जुटेका छन् । बिहीबार मध्यान्हदेखि दुई अध्यक्षबीच भेटवार्ता जारी छ ।

ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । आइतबार सचिवालयका बहुमत सदस्यलाई खुमलटारमा बोलाएर प्रचण्डले ओलीले ‘सहमतिमै अलग हौं’ भनेकाे ब्रिफिङ गरेपछि नेकपा फुटको सँघारमा पुगेको आँकलन गर्न थालिएको थियाे । राजदूत नियुक्ति, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली सरकार विवाद, भारतीय जासुसी निकाय प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिँदा दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन । यसबीचमा दुवै पक्षले आ-आफ्नो ‘गुट’को आन्तरिक छलफललाई भने व्यापक बनाएका थिए ।

सचिवालय सदस्यहरुले ओलीसँग छलफल गरेर पार्टी बैठकमार्फत समस्या सुल्झाउन प्रचण्डलाई सल्लाह दिएपछि उनीहरुबीच बुधबार नै भेट्ने टुंगो लागेको थियो । तर, पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीताको निधन भएकाले भेट स्थगित भएको बताइएकाे थियाे ।

दुई अध्यक्षबीच विवाद चुलिएको र तीव्र ध्रुवीकरण चलिरहेका बेला भएको भेटबाट महत्वपूर्ण निर्णय हुनसक्ने अपेक्षा गरिएकाे छ । यद्यपि, यसअघि भएका पटक-पटकका दुईपक्षीय भेटवार्ताहरू आ-आफ्नै अडानका कारण निष्कर्षविहीन भएका थिए ।

प्रकाशित समय १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु