गृहपृष्ठ हल गोरु नहुँदा खेत बाँझै

हल गोरु नहुँदा खेत बाँझै

रुकुमपूर्वको सदरमुकाम रुकुमकोटमा गाई, भैंसी, गोरु पाल्ने क्रम घट्दै गएपछि खेती गर्न गोरुको अभाव हुन थालेको छ । पहिले गोठभरि देखिने गाई, गोरु, भैंसी अहिले मुस्किलले कसैकसैको घरमा मात्र देख्न पाइन्छ ।

पशुपालन गर्ने प्रचलन घटेका कारण अहिले खेतीपाती लगाउने समयमा गोरु खोज्दैमा कृषक हैरान भएका छन् भने खेतबारीमा रासायनिक मलको अत्यधिक प्रयोग हुन थालेको छ ।

प्रायः सबै स्थानीयवासीले धेरथोर खेतीपाती गर्छन् तर गोरु गाउँभरिमा पाँच/सात हलमात्र हुँदा गोरु खोज्दै र पालो कुर्दैमा समयमा खेतीपाती गर्न समस्या भएको छ । खेतीपाती गर्ने एक याममा एक हल गोरुले चार गाउँ धानेका छन् ।

सिस्ने गाउँपालिका ६ का तिलक रेउले भास्करले यो वर्ष अर्कैको गोरु भाडामा लिएर खेती लगाएका छन् । गोरुको एक हजार रूपैयाँ र हलीको एक हजार रूपैयाँ तिरेर उनले गहुँ लगाएका छन् ।

उनी मात्र होइन, यसरी गोरु खोज्दै भाडामा लिएर खेती लगाउनेहरु थुप्रै छन् । सबैले गोरु पाल्न छोडेपछि समस्या बढेको छ । सिस्ने गाउँपालिका ५ रुमालबाराका आइते कामीका एक हल गोरु छन् । उनको गोरुले रुमालबारासहित टाकुरा, बाहुनठाना, बाहुनडेरालगायतका ठाउँमा खेतीपाती लगाउने गरेका छन् । जिल्लामा कृषिका लागि अझै पनि आधुनिक प्रविधि भित्रिनसकेकाले किसानहरु परम्परागत रुपमा खेतीपाती गर्न बाध्य छन् । (रासस)

प्रकाशित समय १३:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु