गृहपृष्ठ के तपाईंले लगानी गरेको कम्पनी पुँजीकरणका हिसाबले ‘टप टेन’मा पर्छ ?
के तपाईंले लगानी गरेको कम्पनी पुँजीकरणका हिसाबले ‘टप टेन’मा पर्छ ?
विश्वमा सेयर बजारमा सूचीकृत खर्बौं मूल्यका कम्पनीको बारम्बार चर्चा भइरहन्छ । बजार पुँजीकरणका आधारमा साउदी अरेबियन तेल कम्पनी साउदी अराम्को सन् २०२० का लागि विश्वकै सबैभन्दा ठूलो कम्पनी हो । साउदी अराम्कोको बजार पुँजीकरण १६ खर्ब ८४ अर्ब डलर छ ।
त्यस्तै माइक्रोसफ्ट, एप्पल, अमेजन, अल्फाबेट, फेसबुक, अलिबाबा, जोन्सन एन्ड जोन्सन, वालमार्टलगायतका कम्पनी पनि बजार पुँजीकरणका हिसाबले विश्वमै निकै अगाडि छन् । यी कम्पनीको नाम नसुन्ने मानिस पनि कमै होलान् ।
तर, नेपालको सेयर बजारका सर्वाधिक ठूला कम्पनी कुन-कुन हुन् भन्नेमा भने खासै वास्ता भएको पाइँदैन । सेयर बजारका लगानीकर्ताले पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृतमध्ये कुन कम्पनी सर्वाधिक ठूलो हो त भन्नेमा खासै ध्यान नदिएको हुनसक्छ । के तपाईंले लगानी गरेका कम्पनी नेपालकै ठूला १० कम्पनीमा पर्छन् ?
बजार पुँजीकरणका आधारमा कात्तिक २० गते नेपाल टेलिकम सबैभन्दा महँगो कम्पनी हो । टेलिकमको बजार पुँजीकरण १ खर्ब १३ अर्ब २५ करोड रुपैयाँभन्दा बढी छ । नेप्सेमा सरकारी स्वामित्वको टेलिकमको १५ करोड कित्ता सेयर सूचीकृत छ ।
बिहीबारको मूल्यका आधारमा नबिल बैंक दोस्रो स्थानमा छ । नबिल बैंकको बजार पुँजीकरण ८८ अर्ब ७५ करोड १३ लाख रुपैयाँभन्दा बढी छ । नेप्सेमा यो बैंकको १० करोड ८ लाख ५३ हजार ७६० कित्ता सूचीकृत छ । त्यस्तै नेप्सेमा १० करोड कित्ता सूचीकृत रहेको नेपाल रिइन्स्योरेन्स कम्पनी ८५ अर्ब ८० करोड रुपैयाँ पुँजीकरणसहित तेस्रो स्थानमा छ ।
चौथो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी छ । नेपाल लाइफको बजार पुँजीकरण ७७ अर्ब ४४ करोड ९ लाख ५ हजार ६७२ रुपैयाँ छ । नेप्सेमा यो कम्पनीको ५ करोड ४९ लाख ६१ हजार ६०८ कित्ता सेयर सूचीकृत छ । नेपालको सेयर बजारको पाँचौँ ठूलो कम्पनी नागरिक लगानी कोष हो । १ करोड ६४ लाख ७ हजार ४१० कित्ता सेयर रहेको नागरिक लगानी कोषको बिहीबारको कुल मूल्य ६१ अर्ब ५६ करोड ६ लाख २ हजार ३२० रुपैयाँ छ ।
त्यस्तै छैटौँ नम्बरमा एनएमबी बैँक, सातौँमा नेपाल इन्भेस्टमेन्ट बैँक, आठौँमा एनआईसी एसिया बैँक, नवौँमा एभरेस्ट बैँक र दसौँमा ग्लोबल आईएमई बैँक परेका छन् । एनएमबीको बजार पुँजीकरण ६० अर्ब ८२ करोड ५० लाख ४० हजार १३०, इन्भेस्टमेन्ट बैँकको ६० अर्ब ५५ करोड ८० लाख ५६ हजार ६२५, एनआईसी एसियाको ६० अर्ब ५ करोड ५० लाख ८४ हजार ४१६, एभरेस्ट बैँकको ५७ अर्ब १७ करोड ३८ लाख ९३ हजार ८७५ र ग्लोबल आईएमईको ५५ अर्ब ४० करोड ९५ लाख ६९ हजार ३०८ रुपैयाँ छ ।
नेप्सेमा एनएमबीको १४ करोड ४४ लाख ७७ हजार ५३० कित्ता, इन्भेस्टमेन्ट बैँकको १४ करोड २४ लाख ८९ हजार ५४५ कित्ता, एनआईसी एसियाको ९ करोड ७१ लाख ७६ हजार ५१२ कित्ता, एभरेस्ट बैँकको ८ करोड ४७ लाख २ हजार ६५ र ग्लोबल आईएमईको १८ करोड ९७ लाख ५८ हजार ७९९ कित्ता सेयर सूचीकृत छ । बजार पुँजीकरणका आधारमा सर्वाधिक मूल्यका ‘टप टेन’ कम्पनीमध्ये सबैभन्दा बढी सेयर संख्या भएको कम्पनी नै प्रतिष्ठित व्यवसायी चन्द्रप्रसाद ढकालको ग्लोबल आईएमई बैँक हो ।
गत साता १२ अर्बको सेयर कारोबार
गत साता नेप्सेमा १२ अर्ब २२ करोड २७ लाख रुपैयाँबराबरको ४ करोड कित्ता सेयर किनबेच भएको छ । दैनिक औसत २ अर्ब ४४ करोड ४५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको हो ।
बैँकमा लगानीयोग्य रकम थुप्रिएसँगै ब्याजदर घटेपछि बजार उकालो लाग्ने चरणमा छ । यद्यपि, गत साता सेयर बजार ९ अंकले घटेको छ । साताको पहिलो दिन बिहीबार १६४५.६७ अंकबाट कारोबार सुरु भएको नेप्सेमा बिहीबार बजार बन्द हुँदा परिसूचक १६३६.१७ अंकमा झरेको छ । बिहीबारको कारोबारको मूल्यमा कुल बजार पुँजीकरण २१ खर्ब ९२ अर्ब ३४ करोड ५६ लाख रुपैयाँबराबर छ ।
प्रकाशित समय १७:४० बजे

















