गृहपृष्ठ तिहारको तीन दिन बैंक नखुल्ने
तिहारको तीन दिन बैंक नखुल्ने
कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै वाणिज्य बैंकहरुले तिहारको बिदामा तीन दिन आफ्ना शाखाहरु बन्द गर्ने भएका छन् ।
सरकारले दिएको सार्वजनिक बिदाको समयमा बैंक तथा वित्तीय संस्थाका सबै काउन्टर बन्द हुने नेपाल बैंकर्स संघले जनाएको छ । वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघले सीमित शाखा खोलेर बैंकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएको भन्दै नखोल्ने निर्णय गरेको जनाएको हो ।
संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा कात्तिक २९ देखि मंसिर १ गतेसम्म गरी तीन दिन बैंकका शाखा नखुल्ने बताउँछन् ।
‘हालसम्म वाणिज्य बैंकका ६ हजारभन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । थप कर्मचारीमा संक्रमण र धेरै कारोबार नहुने अनुमान गर्दै बन्द गर्ने निर्णय गरेका हौँ,’ उनले भने ।
हाल बैंकहरुले एटीएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएको भन्दै यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरेको बताएका छन् ।
संघले कोरोना भाइरस संक्रमणबाट बच्न तथा जोखिम न्यूनीकरणका लागि डिजिटल बैंकिङ, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम सेवाको अधिकतम प्रयोग गर्न आग्रह गरेको छ ।
गत वर्ष दसैँ तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।
प्रकाशित समय १६:२३ बजे

















