गृहपृष्ठ ग्लोबल आइएमई बैंकद्वारा संस्थागत ग्राहकलक्षित कर्पोरेट पे प्रणालीको सुरुवात
ग्लोबल आइएमई बैंकद्वारा संस्थागत ग्राहकलक्षित कर्पोरेट पे प्रणालीको सुरुवात
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा बैंकका वित्तीय स्रोत व्यवस्थापन विभाग प्रमुख शान्ता सिवाकोटी र क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरुले बैंकमा नगई फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु सजिलै गर्न सक्नेछन् ।
त्यस्तै, उक्त प्रणालीमार्फत connectIPS अथवा NCHL-IPS मा रियल-टाइम वा नन-रियलटाइममा भुक्तानी कारोबारहरु गर्न सकिनेछ । यस प्रणालीमा पहुँच पाउन multi-layer authentication को सुरक्षित व्यवस्था गरिएको छ । साथै ग्राहकले आफ्नो आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरु पनि लिंक गरी कारोबार गर्न सकिने सुविधा रहेको छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुका लागि विभिन्न किसिमका डिजिटल भुक्तानी प्लाट्फर्महरु प्रदान गर्दै आएको छ । यस corporatePAY प्रणालीको सुरुवातले बैंकका व्यावसायिक ग्राहकहरुलाई डिजिटल भुक्तानी सेवा प्रदान गर्न थप टेवा पुग्नेछ । यस प्रणालीको प्रयोग र बिस्तारपश्चात भौतिक रुपमा बैंकमा नपुगी अनलाइनमार्फत विभिन्न भुक्तानी गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरुलाई यसबाट सहज रुपमा सेवा प्रदान गर्न सकिने बैंकले विश्वास लिएको छ ।
प्रकाशित समय १८:०९ बजे

















