गृहपृष्ठ ‘चन्दा आतंक बढ्यो, काम गर्ने वातावरण भएन’

‘चन्दा आतंक बढ्यो, काम गर्ने वातावरण भएन’

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा औपचारिक भेटवार्ता गरेका छन् । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष महासंघको नयाँ नेतृत्वले सम्मानित निजी क्षेत्र र समुन्नत मुलुक निर्माणका लागि भिजन पेपर तयारीमा लागेको जानकारी गराएका थिए ।

अध्यक्ष गोल्छाले कोभिडका कारण मुलुकको आर्थिक विस्तारमा निकै ठूलो समस्या आएकाले अबका दिनमा समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि महासंघले विज्ञ समेतको सहयोगमा आवश्यक गृहकार्य गरिरहेको जानकारी गराए । केही समयदेखि उद्योगहरुमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएको, जिल्लाका उद्यमी व्यवसायीहरुबाट चन्दा आतंक बढेको गुनासो आएको, काम गर्ने वातावरण नभएको र व्यवसायिक मनोबलसमेत घट्दै गएकाले सरकारले समयमै यसतर्फ उचित कदम चाल्नुपर्ने आवश्यकता औंल्याए । बजेट र मौद्रिक नीतिले उद्यमी व्यवसायीका केही माग सम्वोधन गरेको भए पनि धेरैजसो कार्यान्वयन हुन नसकेकाले नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनसहित कोभिड पुनरुत्थान विशेष कार्यक्रम (COVID Recovery)को आवश्यकतामाथि उनले जोड दिए ।

सो अवसरमा महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक सुदृढीकरणका लागि महासंघको नवनिर्वाचित टिमले अगाडि सारेका कार्ययोजनाको स्वागत गरे । सरकारले गर्नुपर्ने सहयोगका लागि आफू सधैँ तयार रहेको उनले विश्वास दिलाए । ‘तपाईहरू उद्योग व्यवसायमा लाग्नुहोस । के सहयोग गर्नुपर्छ, म आफैँ पनि र उद्योग मन्त्रालयका तर्फबाट समेत तपाईहरूलाई चाहेको सहयोग हुन्छ,’ प्रधानमन्त्रीले भने । प्रधानमन्त्री ओलीले व्यावसायिक एकता र सहकार्यमा पनि जोड दिँदै स्वदेशी उत्पादनको प्रवर्द्धनमा लाग्नसमेत आग्रह गरे ।

प्रकाशित समय १४:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु