गृहपृष्ठ सेयर बजार : राष्ट्र बैंकको अस्थिरताको सिकार

सेयर बजार : राष्ट्र बैंकको अस्थिरताको सिकार

मौद्रिक नीति समीक्षामा मार्जिन लेन्डिङ सीमा पुनरावलोकनको चर्चा नै 'बेमौसमी बाजा'

नेपालको सेयर बजार पटक‑पटक राष्ट्र बैंकको अस्थिरताको सिकार बन्ने गरेको छ । यसपटक पनि मौद्रिक नीति समीक्षाका क्रममा सेयर धितो कर्जामा पुनरावलोकन गर्ने बताएपछि सेयर बजार एकैदिन १२३ अंकले मात्र घटेन, साताभर बजारमा निरासा देखियो भने कारोबार रकममा पनि उल्लेख्य गिरावट आयो । साताभरमा सेयर बजार ९१ अंकले घट्यो भने कारोबार रकम ३०.५ प्रतिशतले ओरालो लाग्यो ।

२०७३ साल साउनदेखि लगातारजसो ओरालो लागेको बजारले आशाको सञ्चार गरिरहेका बेला राष्ट्र बैंकको मौद्रिक समीक्षामा आएको मार्जिन लेन्डिङ पुनरावलोकनको हतारोले लगानीकर्ता अल्मलिए । अत्यन्तै संवेदनशील मानिने सेयर बजार मौद्रिक नीतिमाथिको समीक्षासँगै ठूलो अंकमा ओरालो लागेपछि लगानीकर्ता आक्रोशित बने । उनीहरुले राष्ट्र बैंकका गभर्नरलाई पत्र नै लेखेर विरोध जनाए ।

राष्ट्र बैंकले आजै वा भोलि नै पुनरावलोकन गर्ने नभनेको र वित्तीय स्थायित्वमा असर पर्न गएमा मात्र पुनरावलोकन गर्ने भनेको भन्दै लगानीकर्तालाई आश्वस्त बनाउन खोज्यो । सेयर बजार अस्वाभाविक रूपमा घट्दा वा बढ्दा वित्तीय स्थायित्वमा असर पर्न सक्ने र त्यस्तो स्थिति आएमा मार्जिन लेन्डिङको सीमा परिवर्तन गर्नुपर्ने हुन्छ मात्र भनिएको राष्ट्र बैंकको प्रतिक्रिया छ ।

राष्ट्र बैंकले तीन महिनाअघि मात्रै सेयर धितो ऋण ६५ प्रतिशतबाट ७० प्रतिशतसम्म पाइने व्यवस्था गरेको छ । कोरोनाभाइरस महामारीका कारण लगानीका सबै क्षेत्र संकुचित भएपछि बैंकहरूलाई सहज बनाउन पनि मार्जिन लेन्डिङ सीमा बढाइएको थियो । विश्लेषकहरूले मौद्रिक समीक्षामा मार्जिन लेन्डिङ सीमा पुनरावलोकनको चर्चा गर्नु नै बेमौसमी बाजा भएको बताएका छन् ।

साताको पहिलो दिन आइतबार २०५५.४५ अंकबाट कारोबार सुरु भएको सेयर बजार बिहीबार १९६४.०२ अंकमा झरेको छ । गत साता १६२ अंक बढेको बजार यो साता ९१.४३ अंकले घटेको हो । कतिपयले भने यसलाई करेक्सन भनेका छन् ।

लगातार बढेको बजारमा अल्पकालीन लगानीकर्ताले नाफा बुक गरेकाले बजार घटेको उनीहरूको टिप्पणी छ । राष्ट्र बैंकले मौद्रिक समीक्षामा पुनरावलोकनको चर्चा नगरेको भए बजारमा एकैपटक पहिरो नजानेमा भने उनीहरू सहमत छन् ।

त्यस्तै, गत साता ४० अर्ब ९८ करोड रुपैयाँबराबरको सेयर खरिद‑बिक्री भएको बजारमा यो साता २८ अर्ब ४८ करोड रुपैयाँबराबरको सेयर खरिद‑बिक्री भएको छ । कारोबार रकम गत साताको तुलनामा ३०.५ प्रतिशत अर्थात् १२ अर्ब ५० करोड रुपैयाँ कम हो । बिहीबार नेप्सेको कुल बजार पुँजीकरण पनि १ खर्ब २२ अर्ब रुपैयाँ घटेर २७ खर्ब ३३ अर्ब रुपैयाँमा झरेको छ ।

जरुरी थियो ?

लगानीका अन्य क्षेत्र संकुचित भएका बेला बैंकहरूले मार्जिन कर्जा प्रवाह गरेर भए पनि व्यवसाय गर्न खोजेका छन् । नबिल, एनआईसी एसियालगायतका बैंकहरू पनि ब्याजदरमा प्रतिस्पर्धा नै गरेर सेयर लगानीकर्ता आकर्षित गरिरहेका छन् । बैंकहरूले ब्रोकर कार्यालयमा कर्मचारी पठाएर ठूला लगानीकर्तालाई पठाइदिन आग्रह गरिरहेका छन् । यस्तो परिस्थितिमा मार्जिन कर्जा सीमा पुनरावलोकनको चर्चा गर्नु नै बेकार भएको एक बैंकर बताउँछन् ।

सेयर बजार विश्लेषक रविन्द्र भट्टराई संसारमा नियामक कहिल्यै हल्ला गरेर नहिँड्ने बताउँछन् । अझ सेयर बजार अति संवेदनशील हुन भएकाले पहिल्यै विचार गरेर नीतिगत निर्णय बाहिर ल्याइन्छ, उनी भन्छन्, तर हामीकहाँ हल्ला गर्दै हिँड्ने परिपाटी छ, यो धेरै खराब प्रवृत्ति हो ।

बजार बढ्यो भने घटाइहाल्न खोज्ने अनि घट्यो र रुवाबासी गर्दै गयो भने बढाइदिने नीति सेयर बजारका लागि घातक रहेको उनले बताए । अहिले बैंकहरूले सीमाभित्रै रहेर पनि ठूलो भोल्युममा मार्जिन कर्जा प्रवाह गर्न सक्ने विश्लेषक भट्टराईको भनाइ छ । बैंकहरूले अहिले पनि राष्ट्र बैंकले तोकेको सीमाभन्दा धेरै कममात्र सेयर धितो कर्जा प्रवाह गरिरहेका छन्, उनी भन्छन्, हतारमा ७० प्रतिशतको सीमा पुनरावलोकन गर्छु भन्नु लगानीकर्तालाई आतंकित पार्न खोज्नुमात्र हो ।

अर्को कुरा ऋणको सीमा घटाउन पनि समय दिनुपर्ने भएकाले हतारमा पुनरावलोकन हुनै नसक्ने उनको टिप्पणी छ । नयाँ ऋणको लागि समस्या भएन तर पुरानो ऋणको लागि त समय सीमा चाहियो, पुरानो लोनको सीमा पुनरावलोकनका लागि कम्तीमा एक वर्ष समय हुनुपर्छ, उनी भन्छन्, नियामकले बजारको अवस्था नबुझी हल्ला गरिदिँदा धेरै समस्या हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

सेयर बजार ह्वात्तै बजार बढ्नुको कारण के ? कहाँबाट आयो पैसा ?

प्रकाशित समय ०७:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु