गृहपृष्ठ एनआइसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट-पे’का लागि सम्झौता
एनआइसी एशिया बैंक र नेपाल क्लियरिङ हाउसबीच ‘कर्पोरेट-पे’का लागि सम्झौता
एनआइसी एशिया बैंक लिमिटेडले आफ्ना संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै विद्युतीय भुक्तानी गर्न सकिने ‘कर्पोरेट–पे’ प्रणालीको सुरुवात गरेको छ । यस सम्बन्धमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (NCHL)सँग सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा NCHL का प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
बैंकले आफ्ना सम्पूर्ण संस्थागत ग्राहकहरूलाई प्रदान गर्ने उक्त डिजिटल प्रणालीमार्फत संस्थागत ग्राहकहरूले बैंकमा उपस्थित नभई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर भुक्तानी, सरकारी राजस्व भुक्तानीलगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरू आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्नेछन् । उक्त प्रणालीमार्फत connect IPS वा NCHL-IPS भुक्तानी कारोबारहरू गर्न सकिने सुविधा रहेको छ ।
यस ‘कर्पोरेट–पे’ प्रणाली सुरुवात गर्नका लागि ग्राहकहरूले बैंकबाट आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन सक्नेछन् । यस प्रणाली सुरुवात गरेपश्चात् प्रयोगकर्ताहरू आफैँले तोकिएको कारोबार सीमाभित्र कुनै पनि भुक्तानीहरू बैंकको प्रत्यक्ष संलग्नताबिना नै गर्न सक्नेछन् । यस प्रणालीको सुरक्षित प्रयोग गर्न multi-layer authentication को व्यवस्था गरिएको छ भने कुनै पनि कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहक आफैँले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरूले मात्र पाउने सुरक्षित बाटोको व्यवस्था गरिएको छ । साथै ग्राहकहरूले आवश्यकताअनुरुप यस प्रणालीमा एकभन्दा बढी बैंक खाताहरू समेत आबद्ध (Link) गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखामा नपुगी विभिन्न भुक्तानीहरू अनलाइनबाट नै गर्न सकिने हुँदा व्यावसायिक ग्राहकहरूलाई अझ सहज हुनेछ ।
प्रकाशित समय १४:२१ बजे

















