गृहपृष्ठ कोरोना उपचार कोषबाट १ अर्ब ४० करोड खर्च
कोरोना उपचार कोषबाट १ अर्ब ४० करोड खर्च
रकम नपुगेपछि दैवी प्रकोप उद्धार कोषबाट १ अर्ब माग
विश्वव्यापी रूपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड-१९) महामारी नियन्त्रणका लागि व्यवस्थापन गर्न स्थापना गरिएको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ बाट पाँच महिनामा १ अर्ब ४२ करोड रूपैयाँ खर्च भएको छ ।
कोषमा जम्मा भएको रकमले नपुगेपछि कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष सञ्चालक समितिले प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रहेको रकमबाट १ अर्ब रूपैयाँ उपलब्ध गराउन माग गरेको छ ।
महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा १ अर्ब ७८ करोड ८२ लाख रूपैयाँ जम्मा भएकोमा मंसिर १५ गतेसम्म नै १ अर्ब ४० करोड ३७ लाख रूपैयाँ खर्च भइसकेको छ । त्यसभन्दा पछि पनि कोषबाट २ करोड २५ लाख रूपैयाँ कोषबाट निकासा गर्ने कोष सञ्चालक समितिले निर्णय गरिसकेको छ ।
कोषमा सरकारका मन्त्री, सांसददेखि कर्मचारीको तलबभत्ताबाट रकम कटौती गरी जम्मा गर्नुका अलावा विभिन्न व्यक्ति तथा संस्थाले योगदान गरेका थिए। महालेखा नियन्त्रकको कार्यालयले निकालेको विवरणमा यस्तो योगदानबाट भएको आय उल्लेख नै छैन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले असोज १९ गतेसम्म नै २ अर्ब ७६ करोड ९९ लाख रूपैयाँ विभिन्न व्यक्ति तथा संस्थाले कोषमा योगदान गरिसकेको उल्लेख गरेको थियो ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट विगतमा विभिन्न जिल्लामा रहेका क्वारेन्टाइन र आइसोलेसन केन्द्र सुधारका लागि र पछिल्लो समयमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भेन्टिलेटरसहित आइसीयू बेड स्थापना गर्नदेखि विभिन्न अस्पतालका लागि आइसीयू बेड स्थापना, कोरोना उपचारका उपकरण किन्न, ५ बेडका अस्पताल बनाउन अनुदानसमेत रकम निकासा गर्ने गरेको छ ।
प्रकाशित समय १७:२९ बजे

















