गृहपृष्ठ एफएनसीसीआई कर्णालीको अध्यक्ष पदमा शाहीको मात्र उम्मेदवारी

एफएनसीसीआई कर्णालीको अध्यक्ष पदमा शाहीको मात्र उम्मेदवारी

नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको अध्यक्ष पदमा सुर्खेतका पदमबहादुर शाहीको मात्र उम्मेदवारी परेको छ । शनिबार हुने निर्वाचनको लागि उहाँको मात्र उम्मेदवारी परेको हो । निर्वाचन समितिका अनुसार मनोनयन पत्र दर्ता गर्ने अन्तिम समय बिहीबार ४ बजेसम्म शाहीको मात्र अध्यक्ष पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृत विवश बस्नेतले जानकारी दिए ।

सुर्खेत उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका शाही प्रदेश समितिका हालका अध्यक्षसमेत छन् । उनीसँगै एशोसियटतर्फको उपाध्यक्षमा प्रकाश उप्रेती (सुर्खेत), कोषाध्यक्षमा सुधन श्रेष्ठ (सल्यान) र एशोसियट तर्फको सदस्यमा सीताराम कार्की र झवीन्द्र खत्रीको मात्र उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेकाहरुको निर्वाचित भएको औपचारिक घोषणा भने शनिबारमात्र हुनेछ ।

जिल्ला-नगरको उपाध्यक्षमा भानुभक्त बराल (कालीकोट) र रज्जब अली मनियार (जुम्ला) को उम्मेदवारी परेको छ । जिल्ला-नगरको ५ सदस्यको लागि नांगेल लामा (हुम्ला), नवीन विक (सुर्खेत), कविराज कँडेल (सुर्खेत), भुवन ज्ञवाली (सुर्खेत), कर्ण खत्री (जाजरकोट), पहल खड्का (रुकुम पश्चिम) र कष्ण कोइराला (दैलेख) को उम्मेदवारी परेको छ । वीरेन्द्रनगरमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा अध्यक्षका उम्मेदवार शाहीले व्यवसायीको हकहितको लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘हिजो पनि मैले नेतृत्व गर्दै आएको थिए, व्यवसायी साथीहरुले यसपालि पनि मलाई समर्थन गर्नुभएको छ,’ उनले भने, ‘व्यावसायिक हकहितदेखि नीति निर्माणका काममा अग्रसर भएर लागेका छौँ ।’

प्रकाशित समय १४:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु