गृहपृष्ठ शिशिर ऋतुमा तीन आरोही समूह
शिशिर ऋतुमा तीन आरोही समूह
फाइल तस्बिर
शिशिर ऋतुमा हिमाल आरोहणका लागि तीन आरोहण समूहले अनुमति लिएका छन् । शुक्रबारसम्म विभिन्न तीन हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरिएको पर्यटन विभागले जनाएको छ । विभागको पर्वतारोहण शाखाका अनुसार शिशिर ऋतुका लागि अमादब्लम (६,८१४ मिटर), लुजा पिक (५७२६ मिटर) र कांग्रेरी–२ (६५०६ मिटर) चढ्न आरोहण अनुमति जारी भएको छ ।
अमादब्लम हिमाल आरोहणका लागि चार, लुजा पिक चढ्न तीन र कांग्रेरी आरोहणका लागि एकजनाले आरोहण अनुमति लिएका हुन् । तीनवटै हिमालबाट ९३ हजार २९० रूपैयाँ रोयल्टी जम्मा भएको छ । सन् २०१९ को शिशिर ऋतुमा आठ आरोही समूहका ३६ जना अरोही (पुरुष मात्र) सदस्य थिए । उनीहरुबाट २१ लाख २५ हजार रूपैयाँ रोयल्टी उठेको थियो । यो वर्ष जाडो याम भर्खरै सुरु भएकाले साना हिमाल र पिक आरोहणमा आरोही बढ्नसक्ने विभागको भनाइ छ ।
कोभिड–१९ महामारीबीच सरकारले गत कात्तिकदेखि पर्वतारोहण र पदयात्रा खुल्ला गरेको थियो । यस वर्षको शरद ऋतुमा विभिन्न हिमाल आरोहणका लागि १२ आरोही समूहका नौ महिला र ६८ पुरुषसहित आरोही सदस्य थिए । शरद ऋतुमा ४० लाख ६३ हजार रूपैयाँ रोयल्टी जम्मा भएको थियो । सन् २०१९ को शरद ऋतुमा १६४ आरोही समूहका २५७ महिला र ९५३ पुरुष गरी एक हजार २०० आरोही सदस्य थिए । उक्त याममा पाँच करोड ५७ लाख ८३ हजार रूपैयाँ रोयल्टी उठेको थियो । (रासस)
प्रकाशित समय १४:१८ बजे

















