गृहपृष्ठ केपी ओलीले जनताप्रति गम्भीर घात गरे : भीम रावल

केपी ओलीले जनताप्रति गम्भीर घात गरे : भीम रावल

नेपाल कम्युनिस्ट पार्टी नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताप्रति गम्भीर घात गरेको आरोप लगाएका छन् । धनगढी रंगशालामा आइतबार आयोजित कार्यक्रममा उनले भने, ‘ओलीले संसद विघटन गरेर देश र जनताप्रति मात्रै गम्भीर घात गरेका छैनन्, पूर्वमाओवादी र एमालेबीच भएको पार्टी एकतामा पनि घात गरेका छन् ।’

ओलीले जनताको बहुदलीय जनवादलाई पार्टी एकता गर्दा नै छोडेको हुँदा अहिले जनताको बहुदलीय जनवाद अंगाल्न खोज्नु हास्यास्द रहेको रावलको तर्क छ । ‘कोरोना कहरका बेला सरकारलाई पार्टीले पूरा साथ दियो,’ उनले भने, ‘तर ओलीले पार्टी फुटाउने विधेयक ल्याउन खोजे, उनी पहिलेदेखि पार्टी फुटाउन उद्यत थिए ।’

ओलीले पार्टीको अध्यक्ष भएर पनि पार्टीको बैठकमा आएर कहिले पनि नेताहरुले उठाएका प्रश्नको जवाफ नदिएको बताए । ‘पटक-पटक सच्याउन खोज्यौँ, लिखित, मौखिक रुपमा पूर्वप्रधानमन्त्रीहरुले समेत ओलीलाई बैठकमा बोलाउनुभयो तर ओली निरकुंश शैलीमा अगाडि बढे,’ उनले भने ।

बालुवाटारमा गरेको केन्द्रीय समितिको बैठक ओली गुटको भेलामात्रै भएको रावलको भनाइ छ । नेता रावलले निरकुंश शासकको शैलीमा मन्त्रिपरिषद विस्तार गरिएकोप्रति चर्को विरोध गरे । निर्वाचन आयोगले प्रचण्ड-माधव नेतृत्वमा रहेको नेकपालाई नै वैधानिक पार्टीको मान्यता दिने उनले दाबी गरे ।

प्रकाशित समय २०:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु