गृहपृष्ठ मध्यावधि समीक्षाबाट मर्जरमा कडाइ गर्ने राष्ट्र बैँकको तयारी
मध्यावधि समीक्षाबाट मर्जरमा कडाइ गर्ने राष्ट्र बैँकको तयारी
मर्जरका लागि सबै तयार छौँ, एमाले र माओवादीको जस्तो नहोस् भन्नेमात्र हो : भुवन दाहाल
राष्ट्र बैँकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट मर्जरमा कडाइ गर्ने तयारी गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबाटै फोर्स मर्जरको नीति लिन लागे पनि अन्तिम समयमा पछाडि हटेको राष्ट्र बैँकले अर्धवार्षिक समीक्षाबाट कडाइ गर्ने तयारी गरेको हो ।
वाणिज्य बैँकको संख्या आधाभन्दा बढी घटाउनुपर्ने निष्कर्षसहित मर्जरका लागि राष्ट्र बैँकले वाणिज्य बैँकहरूलाई आग्रह गरिरहेको छ । मौद्रिक नीति निर्माणका क्रममा आफैँ उपयुक्त पार्टनर खोज्ने भन्दै बैँकका सञ्चालक र प्रमुख कार्यकारी अधिकृतले आग्रह गरेपछि राष्ट्र बैँकले नाम नै पठाउन निर्देशनसमेत दिएको थियो । तत्कालीन समयमा मर्जरका लागि तदारुकता देखाएका वाणिज्य बैँकहरू अहिले सुस्ताउन थालेपछि राष्ट्र बैँकले कडाइ गर्ने तयारी गरेको हो ।
डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी राष्ट्र बैँकले सकेसम्म मर्जर या एक्विजिसनका लागि जबर्जस्ती नगर्ने बताउँछन् । ‘अहिले बैँकहरू नै समस्यामा छन्, गाह्रो उनीहरूलाई नै भइरहेको छ,’ उनी भन्छन्, ‘मर्जरमा जानुपर्ने सवालमा राष्ट्र बैँकसँग बैँकहरू सहमत पनि छन्, त्यसैले हामीले नीतिगत व्यवस्था सहज बनाएर मर्जर, एक्विजिसनका लागि इन्करेज गरिरहेका छौँ, तथापि बढी लचक भएर नहुने देखियो भने मध्यावधि समीक्षाबाट केही निर्णय लिन सकिन्छ, त्यसको तयारी भइरहेको छ ।’
राष्ट्र बैँकले हालसम्म इन्सेन्टिभ दिएर मर्जरका लागि प्रेरित गरिरहेको उनले स्पष्ट पारे । ‘हामी अझै पनि आवश्यकताले नै मर्जरमा लैजाओस् भन्नेमा छौँ,’ डेपुटी गभर्नर शिवाकोटी भन्छन्, ‘हामी पुससम्मको अवस्था हेर्छौं, तथ्यांक अध्ययन गर्छौं र अपेक्षाअनुसार अघि बढेको देखिएन भने नयाँ निर्णय लिन सक्छौँ ।’
राष्ट्र बैँक सकेसम्म गम्भीर र ठूला प्रकारका निर्णय नगरौँ भन्नेमै रहेको उनले स्पष्ट पारे । ‘तर नियामक भएपछि त्यसरी सोचेरमात्र हुँदैन, कठोर निर्णय लिनुपर्ने पनि हुनसक्छ,’ शिवाकोटीले भने ।
केही बैँकहरूको मर्जर प्रयासलाई राष्ट्र बैँकले नजिकबाट नियालिरहेको उनले बताए । ‘त्यसले पनि अन्य बैँकहरू मर्जरका लागि प्रभावमा पर्न सक्छन्,’ हिमालयन बैँक र नेपाल इन्भेस्टमेन्ट बैँकको उदाहरण दिँदै उनले भने, ‘हामी अरु बैँकका मर्जर गतिविधि पनि हेरिरहेका छौँ, कस्तो नीति लिने भन्ने समीक्षासम्मको सिनारियोले निर्धारण गर्छ ।’
बलिया पार्टनर खोज्दै बलिया वाणिज्य बैँक
राष्ट्र बैँकको नीतिमात्र नभई आवश्यकताका आधारमा पनि मर्जरका लागि मानसिक रुपमा तयार भएका बैँकका सञ्चालकहरू बलिया बैँक नै खोजिरहेका छन् । अहिले नेपाल इन्भेस्टमेन्ट बैँक र हिमालयन बैँक तथा सिद्धार्थ बैँक र नबिल बैँकले मर्जरका लागि काम अघि बढाएका छन् ।
नेपाल इन्भेस्टमेन्ट बैँक र हिमालयन बैँकले ड्यु डेजिलेन्स अडिट करिब सम्पन्न गरेका छन् भने अन्य दुई बैँकले मर्जरका लागि छलफल बाक्लो बनाएका छन् । हालसम्म १:१ स्वाप रेसियोअनुसार मर्जरमा जान नेपाल इन्भेस्टमेन्ट बैँक र हिमालयन बैँक प्रारम्भिक रुपमा सहमत भइसकेका छन् ।
विगतमा दुई ठूला कम्पनीहरूको असफल मर्जर प्रयासबाट पाठ सिक्दै बैँकहरू ड्यु डेलिजेन्स अडिटपछि स्वाप रेसियोमा समेत सहमति बनेपछि मात्रै मर्जरका लागि समिति गठन गरेर अघि बढ्ने भएका छन् । विगतमा एभरेस्ट र लक्ष्मी बैंकको ड्यु डजिलेन्स अडिट भइसकेपछि स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर हुन सकेको थिएन । राष्ट्र बैँकको पछिल्लो प्रयासयता ग्लोबल आईएमई बैँक र जनता बैँकमात्र बिग मर्जरमा गएका छन् ।
मर्जरका लागि सबै बैँक तयार छन् : भुवन दाहाल
नेपाल बैँकर एसोसिएसनका अध्यक्ष एवं सानिमा बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल मर्जरका लागि विषयमा सबै वाणिज्य बैँकहरू तयार रहेको बताउँछन् । ‘केही प्राविधिक कुराहरूका कारण परिणाम नआइहालेको हो, कतिपयले हाइ डिमान्ड गर्ने गरेका छन्, कोभिडले पनि केही प्रभावित बनायो तर अधिकांश बैँकहरूले मर्जर कमिटी बनाएर अध्ययन गरिरहेका छन्,’ उनी भन्छन्, ‘सानो भएर टिक्न गाह्रो छ भन्नेमा पनि सबै सहमत छन् । बैँकहरूबीचको मर्जर एमाले र माओवादीको एकता जस्तो नहोस् भन्ने लागेको मात्र हो ।’
राष्ट्र बैँकले कडा नीति लियो भने मर्जर अलि चाँडो हुनसक्ने भए पनि दिगो नहुने होकि भन्ने चिन्ता बैँकरहरूमा छ । ‘बैँकहरू त एकता गर्दै फुट्दै गर्न मिल्दैन,’ बढो रमाइलो ढंगले उनले भने, ‘हामी दिगो र बलियो एकताको तयारीमै छौँ ।’
सानिमा बैँकले पनि मर्जर कमिटी नै बनाएर उपयुक्त पार्टनर खोजिरहेको उनले बताए । ‘चार-पाँच वटासँग कुरा पनि भयो तर अलि हाइ डिमान्ड भएकाले अघि बढ्न सकिराखिएको छैन,’ सीईओ दाहालले भने, ‘कमिटीले अध्ययन, छलफल गरिरहेको छ तर कुनैसँग कुरा मिलिसकेको भने छैन ।’
सानिमा बैँक अन्य बैँकको तुलनामा निकै अगाडि छ । क्यामेल्स अध्ययनमा पनि ‘टप पाइभ’मा पर्न सफल यो बैँक व्यवसायका हिसाबले पनि बलियो छ । बैँकले एक तिहाइ ठूला र दुई तिहाइ साना (एसएमई, रिटेल तथा साना) लोन प्रवाहको नीति लिएको छ । पूर्वाधारतर्फ सानिमा बैँकको लगानी १२-१३ प्रतिशत छ ।
प्रकाशित समय १५:२४ बजे

















