गृहपृष्ठ लकडाउनमा समेत निगमले कमायो नाफा

लकडाउनमा समेत निगमले कमायो नाफा

कोभिड- १९ को प्रभावले इन्धन खपतमा कमी आउँदासमेत नेपाल आयल निगमका नाफामा वृद्धि भएको छ । गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीको अवधिमा समेत निगमले नाफा आर्जन गरेको हो ।

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को अन्तिम लेखापरीक्षण प्रतिवेदनअनुसार १३ अर्ब नाफा कमाएको छ । पेट्रोलियम पदार्थको कारोबार गरेर निगमले एक वर्षको अवधिमा १२ अर्ब ८७ करोड नाफा कमाएको हो । प्रतिवेदनमा मोतिहारी अमलेखगञ्ज पेट्रोलयम पाइपलाइनबाट इन्धन आयात गरी ढुवानी रकम बचत हुनुका साथै अघिल्ला वर्षको नाफा रकमको ब्याज आम्दानी बढेपछि निगमको नाफामा वृद्धि भएको हो ।

ब्याज आम्दानी, ढुवानी खर्चमा भएको बचत तथा एलपीजी ग्यासमा दिँदै आएको अनुदान घटेका कारण गत आर्थिक वर्ष २०७६/७७ मा निगमको नाफा बढ्न पुगेको निगमका कार्यकारी निर्देशक शुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार समग्रमा निगमले पाँच प्रतिशतको हाराहारीमा मुनाफा आर्जन गरेको छ ।

कुन वर्ष कति नाफा

लामो समयदेखि घाटामा रहेको निगम पछिल्ला वर्षमा नाफामा गएको हो । निगमले गत आव २०७२/७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/७४ मा ९ अर्ब ४५ करोड, २०७४/७५ मा तीन अर्ब ५८ करोड, २०७५/७६ मा ८ अर्ब ७५ करोड र गत आव २०७६/७७ मा १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले आव २०७५/७६ मा २९ करोड रहेको चुक्ता पूँजीलाई दश अर्ब पूँजी वृद्धि गरेर एघार अर्ब पुर्या७एको थियो । आव ०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आव २०७६/७७ मा नाफा रकमबाट सेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा वृद्धि भएको हो । इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ ।

दश महिनाको अवधिमा पाइपलाइनबाट डिजेल ढुवानी गर्दा एक अर्ब ४७ करोड बचत भएको प्रतिवेदनमा उल्लेख छ । साथै गत वर्षको नाफा रकमको बैंक ब्याजबाट मात्र एक अर्ब ७७ करोड आम्दानी भएको निगमको जनाएको छ । आव २०७०/७१ मा प्रतिलिटर १३४ रहेको पेट्रोलको मूल्य आव ०७६/७७ को असार मसान्तसम्म घटेर एक सय २ मा झरेको थियो । यस्तै सोही अवधिमा एक सय ५ रहेको डिजेलको मूल्य घटेर ८८ रूपैयाँमा झरेको थियो ।

निगमले अन्तर्राष्ट्रिय मूल्यअनुसार स्थानीय बजारमा मूल्य समायोजन गदै आएको छ । निगमले इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्यअनुसार निगमले स्थानीय बजारमा मूल्य सामायोजन गर्ने गरेको छ ।

निगममा सरकारको ९९ प्रतिशत सेयर लगानी रहेको छ । यसमा अर्थ, उद्योग वाणिज्य आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, राष्ट्रिय बिमा कम्पनी, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको सेयर रहेको छ । सरकारलाई सबैभन्दा धेरै राजश्व बुझाउनेमा अग्रस्थानमा रहेको निगमले गत आवमा इन्धनको कारोवार गरेर सरकारलाई ६६ अर्ब ८८ करोड रूपैयाँ राजश्व बुझाएको जनाएको छ । गत वर्ष निगमले दुई खर्ब ५ अर्ब बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो । यो अघिल्लो वर्षको तुलनामा ११ प्रतिशतले कमी हो ।

निगमले उपभोक्ताबाट विभिन्न शीर्षकमा उठाउँदै आएकोमध्ये सडकमर्मत शुल्कबाट पाँच वर्षको अवधिमा चार अर्ब ९९ करोड पुगेको छ । यस्तै प्रदूषण करबाट दुई अर्ब ९४ करोड, पूर्वाधार विकास करबाट १३ अर्ब ९८ करोड जम्मा भएको छ । निगमले अन्तर्राष्ट्रिय मूल्यअनुसार मूल्य सामायोजन गदै आए पनि सीमा नाकाभन्दा नेपालमा इन्धनको मूल्य सस्तो रहेको छ । सीमा नाकाभन्दा नेपालमा पेट्रोल ३१ रुपैयाँ ८४ पैसा र डिजेल ३७ रुपैयाँ २६ पैसा नाफा रहेको छ । हाल पेट्रोल प्रतिलिटर १०६ र डिजेलको ८९ मूल्य रहेको छ । (रासस)

प्रकाशित समय १६:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु