गृहपृष्ठ यो वर्ष धान बढी फल्नुमा कृषिमन्त्रालयका यस्ता छन् तर्क
यो वर्ष धान बढी फल्नुमा कृषिमन्त्रालयका यस्ता छन् तर्क
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट अनौपचारिक रूपमा ‘पर्याप्त’ रासायनिक मल आयात भएकाले चालू आर्थिक वर्ष २०७७/७८ मा नेपालमा धानको उत्पादन गत वर्षभन्दा ७० हजार ८३१ मेट्रिक टन बढी उत्पादन भएको दाबी गरेको छ ।
‘धानबालीको सिजनमा गत सालभन्दा न्यून युरिया आपूर्ति हुँदा पनि राष्ट्रको धानबालीको कुल उत्पादनमा करिब ७० प्रतिशत योगदान रहेका तराईका जिल्लाहरूमा सिमाना पारिबाट अनौपचारिक रूपमा रासायनिक मल किसानले ल्याई असजहतालाई पूर्ति गरेको पाइएको छ,’ मन्त्रालयले भनेको छ, ‘लकडाउनले गर्दा कामदारको सहज उपलब्धता रहेको, प्रदेशगत कृषि कार्यालयहरूले बीउबिजन उपलब्धतामा सहजीकरण गरेकाले गत सालभन्दा समग्रमा १ प्रतिशत अर्थात १४ हजार ५४९ हेक्टर बढी क्षेत्रफलमा बढी रोपाई भएको थियो ।’
मन्त्रालयका अनुसार यो वर्ष कुल १४ लाख ७३ हजार ४७४ हेक्टर क्षेत्रफलमा धान रोपाई भइ ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको छ । कृषि मन्त्रालयले धान उत्पादन बढ्नुका पछाडि बढी क्षेत्रफलमा रोपाई भएको र कुल धानबाली लाग्ने क्षेत्रफलको ९५ प्रतिशतभन्दा अधिकमा उन्नत बीउ लगाइएकाले बढी धान फलेको दाबी गरेको छ ।
मन्त्रालयले यस वर्ष पर्याप्तथ र छिटो वर्षा सुरु हुनु, उन्नत तथा हाइब्रिड बीउबिजनको उपलब्धता तथा प्रयोगमा भएको वृद्धि, रोग, किराको प्रकोप र बीउमा समस्यामा कमी आएको, सिँचाइ प्रविधिमा आएका सुधारहरूले गर्दा धानको उत्पादन बढेको उल्लेख गरेको छ ।
असार-मंसिरको मुख्य सिजन अर्थात बर्खे धानको कुल उत्पादन ५ लाख ५० हजार टनमात्र हो भने सरकारले चैते धानको प्रारम्भिक अनुमान गरेको हो ।कृषिमन्त्रालयका अनुसार चैते धान ५ लाख ७१ हजार टन उत्पादन हुने अपेक्षा छ ।
गण्डकी र बागमतीमा उत्पादन घट्यो
वार्षिक तुलनाका हिसाबले लुम्बिनीमा सर्वाधिक उत्पादन बढेको छ भने गण्डकीमा कम उत्पादन भएको मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार देशका पाँच प्रदेशमा धानको उत्पादन बढेको भए पनि गण्डकीमा गत वर्षभन्दा साढे ११ हजार टनभन्दा बढी र बागमती प्रदेशमा ६ सय टन कम धान उत्पादन भएको छ भने खेतीका हिसाबमा बागमती, गण्डकी र प्रदेश नं २ मा उत्पादकत्व पनि गत वर्षको भन्दा घटेको छ ।
मन्त्रालयले देशभरिमा औसतमा १ प्रतिशत बढी क्षेत्रफलमा धानखेती बढी गरिएको बताए पनि प्रदेशगत रूपमा हेर्दा गण्डकीमा करिब २ प्रतिशत कम क्षेत्रफलमा धान लगाइएको देखिन्छ भने सुदूरपश्चिममा गत वर्षभन्दा ०.०१ प्रतिशत अर्थात् नाममात्रैको वृद्धि भएको, कर्णालीमा ०.४० प्रतिशतले वृद्धि भएको छ ।
कुन प्रदेशमा कति फल्यो?
मन्त्रालयका अनुसार प्रदेश नं १ मा १२ लाख ७५ हजार टन, प्रदेश २ मा १४ लाख ३२ हजार टन, बागमतीमा ५ लाख ९ हजार टन, गण्डकीमा ३ लाख ९७ हजार टन, लुम्बिनीमा १२ लाख २४ हजार टन, कर्णालीमा १ लाख ३७ हजार टन र सुदूरपश्चिमा ६ लाख ४५ हजार टन धान फलेको छ ।
प्रकाशित समय १२:५३ बजे

















