गृहपृष्ठ कोरोनाले हस्तकला व्यवसायमा ६० प्रतिशत गिरावट, चाँदी आयात पाँच गुणा कम
कोरोनाले हस्तकला व्यवसायमा ६० प्रतिशत गिरावट, चाँदी आयात पाँच गुणा कम
विश्वव्यापी नोवेल कोरोनाभाइरस (कोभिड १९) का कारण नेपालको हस्तकला क्षेत्र धराशयी बनेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि विश्वभर गरिएको लकडाउनले हस्तकला व्यवसायमा निकै ठूलो प्रभाव परेको हो ।
नेपालको समग्र हस्तकला व्यवसायमा ६० प्रतिशत गिरावट आएको नेपाल हस्तकला महासंघले जनाएको छ । ‘मौद्रिक मूल्यमा भएको क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ,’ महासंघका वरिष्ठ उपाध्यक्ष प्रचण्ड शाक्यले भने, ‘सरसर्ती हर्दा ६० प्रतिशतले व्यवसाय प्रभावित भएको पाएका छौँ ।’
करिब १२ लाख मानिस आबद्ध रहेको हस्तकला क्षेत्र लकडाउनको अन्य व्यवसायजस्तै प्रभावित बन्यो । लकडाउन खुल्ने र बजार पहिलेको अवस्थामा पुनः फर्किने आशामा कतिपयले ढोका थुनेर पनि उत्पादन गरिरहे । तर, अहिलेसम्म पनि बजार सामान्य बन्न नसकेको वरिष्ठ उपाध्यक्ष शाक्य बताउँछन् । ‘क्रिसमसको समयमा केही अर्डर थियो, अहिले त ठप्पै छ,’ उनले भने, ‘माग नआएपछि उत्पादन प्रभावित भएको छ ।’
समग्र हस्तकला व्यवसायमा कति लगानी छ भन्ने कुराको यकिन तथ्यांक महासंघसँग छैन । महासंघमा १ हजार ६०० व्यवसायी आबद्ध छन् । महासंघबाहिर पनि धेरै व्यवसायी रहेको शाक्यले बताए ।
कोरोनाका कारण चाँदीको प्रयोग हुने हस्तकला उत्पादनमा व्यापक गिरावट आएको छ । चालू आवको साउनदेखि मंसिरसम्ममा चाँदी आयातमा भारी गिरावट आएबाट पनि यो स्पष्ट हुन्छ । पाँच महिनाको अवधिमा भारत, अमेरिका र यूएईबाट जम्मा १ अर्ब ४ करोड ५७ लाखको चाँदी आयात भएको छ । यूएईबाट सबैभन्दा धेरै १ अर्ब ४ करोड ५५ लाखको ११ हजार किलो चाँदी भित्रिएको छ । अमेरिका र भारतबाट आयात भएको चाँदीको हिस्सा न्यून छ ।
गत वर्ष सोही अवधिमा ३ अर्ब ७६ करोड रुपैयाँबराबको ५८ हजार किलो चाँदी आयात भएको थियो । यो वर्षको साउनदेखि मंसिरसम्ममा १ अर्ब ४ करोडको ११ हजार किलोमात्र चाँदी आयात भएको छ ।
कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण चाडपर्व, भोजभतेर हुन नसक्दा पनि चाँदीको खपत न्यून भएको महासंघका वरिष्ठ उपाध्यक्ष शाक्य बताउँछन् । ‘एउटा कोरोनाका कारण सबै ठप्प भएपछि चाँदीको माग भएन,’ उनले भने, ‘अर्को मूल्य पनि निकै चुलियो ।’ दुवै कारणले चाँदी आयात कम भएको उनले बताए ।
लकडाउनअघि चाँदी प्रतितोला ७ सय रुपैयाँ हाराहारी रहेकोमा लकडाउनकै समयमा १ हजार पुगेको र अहिले १ हजार ३ सय रुपैयाँ पुगेकाले बजार प्रभावित भएको उनको बुझाइ छ । चाँदीका सामानको बजार भने नेपाल नै हो । दसैँतिहारकै समयमा धेरै चाँदी खपत हुन्छ । ‘विवाह, व्रतबन्ध, पास्नी, भोजभतेर, दसैँतिहारमा नेपालमै चाँदी ठूलो मात्रामा खपत हुन्छ,’ शाक्यले भने, ‘चाँदीका गरगहना केही मात्रामा युरोप, अमेरिका निर्यात हुन्छ ।’
शाक्यका अनुसार युरोप, अमेरिका, जापान, चीन र केही मात्रामा भारतमा चाँदीका गहना निर्यात हुन्छ । क्रिसमसपछि भने गहनाको अर्डर शून्यबराबर रहेको उनले जानकारी दिए ।
प्रकाशित समय १३:४९ बजे

















