गृहपृष्ठ पूर्वप्रधानन्यायाधीशहरुमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको छुद्र टिप्पणी

पूर्वप्रधानन्यायाधीशहरुमाथि प्रधानमन्त्रीका प्रेस सल्लाहकारको छुद्र टिप्पणी

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानन्यायाधीशमाथि छुद्र टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले ओलीले संसद विघटन गरेर गैरसंवैधानिक कार्य गरेको भन्दै चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति जारी गरेपछि आवेगमा आएका थापाले ‘गति छाडेर वक्तव्यबाजी गरेको’ टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘नेपालको संविधान सेवानिवृत्त चार जना पूर्वप्रधानन्यायाधीशहरूले लेखेको होइन । यो त जनताका प्रतिनिधिहरूले लेखेको जगजाहेर नै छ । अनि चार जना पूर्वप्रधानन्यायाधीशहरूको असंवैधानिक वक्तव्यबाजीबाट संविधानको भाग ११, न्यायपालिकासम्बन्धी व्यवस्थाको बर्खिलाप कार्य भएको प्रस्ट हुन्छ । यसले अदालतलाई प्रभावित गर्ने र भीडको निहीत चाहनामुताविक फैसला गर्न प्रेरित र बाध्य गर्ने उहाँहरूको दुराशय स्पष्ट पारेको छ ।

रिटायर्ड प्रधानन्यायाधीशहरूले संवैधानिक इजलासले गरिरहेको सुनुवाइलाई प्रभावित गर्न जारी गरेको संयुक्त वक्तव्य संवैधानिक प्रावधानका हिसाबले पूर्णत: गलत छ । कमसेकम सम्मानित सर्वोच्च अदालतको नेतृत्व गरिसक्नुभएका महाशयहरूले यसरी गति नछाडिदिएमात्रै पनि स्वतन्त्र न्यायपालिकाको मर्यादा र सम्मान अभिवृद्धि गर्न अवकाशको जीवनमा समेत सकारात्मक योगदान गरेको ठहरिन्थ्यो होला ! सामाजिक मर्यादा र मानकका सारा स्थापित सीमा भत्काउने यस्तो क्रियाकलापले त न्यायिक क्षेत्रमा अराजकता र भीडतन्त्रको पैरवीलाई नै व्यवहारमा प्रोत्साहन गर्दैन र ? संसारभरि अवकाशप्राप्त जजले फैसला सुनाउन खाजेको यस्तो सायद कहीँकतै देखिन्छ कि ?’

संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर तानाशाही शैलीमा संसद विघटन गरेका ओलीविरुद्ध अहिले सारा देश एकढिक्का भएका बेला उनका काँधमा हालेकाहरू भने यसैगरी समाजिक सञ्जालमा प्रस्तुत भइरहेका छन् । प्रधानमन्त्री ओलीसहित उनका पछि लाग्ने सबै नेता तथा कार्यकर्ता तल्लो स्तरमा उत्रिएर नेकपाका अन्य नेता तथा कार्यकर्ताको उछितो काढिरहेका छन् । निकृष्ट शब्द प्रयोग गरेर गाली गरिरहेका छन् । सल्लाहकार थापाको पछिल्लो गाली पनि त्यसकै निरन्तरतामात्र भएको भन्दै उनकै स्टाटसमुनि व्यापक आलोचना भइरहेकको छ ।

प्रकाशित समय ०९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु