गृहपृष्ठ तीन सामुदायिक होमस्टेलाई २४ लाख अनुदान
तीन सामुदायिक होमस्टेलाई २४ लाख अनुदान
सिरुबारी होमस्टे । फाइल तस्बिर
गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमअन्तर्गत यो वर्ष बागलुङका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार गलकोट नगरपालिका ६ भुजुङ्गेस्थित ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’, काठेखोला गाउँपालिका ३ को ‘बेलढुंगा सामुदायिक होमस्टे’ र जैमिनी नगरपालिका १० स्थित ‘हाँडीकोट सामुदायिक होमस्टे’ छनोटमा परेका हुन् ।
ती घरवासका सञ्चालक परियोजना कार्यान्वयनका लागि मन्त्रालयसँग सम्झौताको तयारीमा छन् । प्रत्येक घरवासलाई आठ लाखका दरले अनुदानको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । अनुदान रकम पूर्वाधार निर्माणसँगै पर्यटन प्रवर्धनको काममा खर्च गरिनेछ । ‘गलकोट स्टोन भिलेज सामुदायिक होमस्टे’का अध्यक्ष कमला श्रीसले यस वर्ष पदमार्ग निर्माणको योजना रहेको जानकारी दिइन् ।
गाउँभित्रै एक घरदेखि अर्को घर जोड्ने गरी पर्यटनमैत्री हिसाबले पदमार्ग बनाउने उनले जानकारी दिइन् । गत वर्ष पनि प्रदेश सरकारको १० लाख बजेटबाट सामुदायिक भवन निर्माण गरिएको थियो । उक्त भवन अहिले घरवासमा आउने पाहुनाको स्वागत र सांस्कृतिक कार्यक्रमका लागि प्रयोगमा ल्याइएको छ ।
भुजुङ्गेका सात घरमा घरवास सञ्चालित छ । मगर बाहुल्य उक्त गाउँमा पर्यटक भित्र्याउने उद्देश्यले घरवास खोलिएको हो । घरवास सञ्चालनमा आएपछि ढुङ्गेनी गाउँ (स्टोन भिलेज) ले चिनिने भुजुङ्गेले नयाँ चिनारी पाएको छ । पारिवारिक आतिथ्यता, स्थानीय परिकार, रहनसहन, संस्कृति र घुमफिर घरवासका आकर्षण हुन् ।
घरवासमा कोदो, फापर, जौ, मकै, गहुँ, आलु, सिस्नो, सिन्की, भट्टलगायत घरेलु उत्पादनका परिकार तयार पारिन्छ । भुजुङ्गेको समग्र पर्यटन विकासका लागि विस्तृत परियोजना प्रतिवदेनमार्फत काम भइरहेको घरवास सञ्चालक समितिका सल्लाहकार फणिन्द्र थापामगरले बताए ।
काठेखोलाको बेलढुङ्गा र जैमिनीको हाँडीकोट सामुदायिक घरवासले पनि पूर्वाधार निर्माणको योजना बनाएका छन् । पछिल्लो समय घरवासप्रति पर्यटकको आकर्षण बढेपछि सञ्चालक उत्साहित छन् । राज्यका निकायले पनि घरवास प्रवर्धनका लागि लगानी बढाइरहेका छन् । ग्रामीण पर्यटनको प्रवर्धन गर्ने उद्देश्यले हाल बागलुङमा २८ घरवास सञ्चालित छन् । (रासस)
प्रकाशित समय ०७:१९ बजे

















