गृहपृष्ठ पेट्रोल र डिजेलको मूल्य बढ्यो
पेट्रोल र डिजेलको मूल्य बढ्यो
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँका दरले वृद्धि गरिएको निगमले जनाएको छ ।
निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्रका लागि पेट्रोल तथा डिजेल, मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य क्रमशः ११० र ९३ रुपैयाँ प्रतिलिटर कायम गरेको छ । हवाई इन्धन तथा एलपी ग्यासको मूल्य हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ ।
मूल्य समायोजनपश्चात पनि पेट्रोलमा प्रतिलिटर ४.३४, डिजेलमा प्रतिलिटर २.९६ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १३४.७२ घाटा रहेको निगमले जनाएको छ । अर्धवार्षिक रुपमा निगमलाई ४९.८८ करोड घाटा हुने र सो घाटा रकम मूल्य स्थिरीकरण कोष तथा निगमको सञ्चित नाफाबाटा व्यवस्थापन गरी पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गरिने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
हालको मूल्य समायोजनपश्चात् पनि भरतीय सीमा रक्सौलसँग जोडिएको नेपालको वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर ३२.२६ र डिजेल प्रतिलिटर ३७.६४ रुपैयाँले नेपालतर्फ सस्तो रहेको पनि निगमले जनाएको छ । निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि २०७१ अनुसार प्रत्येक महिनाको १५/१५ दिनको अन्तरमा मूल्य समायोजन गर्दै आएको छ । निगमले एलपी ग्यासको बिक्री मूल्य २०७६ माघ २० गतेदेखि लागू हुने गरी प्रतिसिलिन्डर एक हजार ३७५ कायम गरेको थियो ।
प्रकाशित समय ०७:४३ बजे

















