गृहपृष्ठ ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाइदिन्छौँ : नेपाल

ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाइदिन्छौँ : नेपाल

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाइदिने बताएका छन् । प्रतिनिधिसभा विघटन गरी असंवैधानिक काम गरेका ओलीलाई पार्टीमा रहने अधिकार नभएको नेपालले बताए र

नेकपाले बिहीबार सुर्खेतमा आयोजना गरेको विरोध सभामा उनले ओलीले गणतन्त्र नजन्माएको कारण गणतन्त्रको मायासमेत नगर्ने बताए । ‘गुटगत राजनीति गर्ने कम्युनिस्ट हुनै सक्दैन,’ उनले भने, ‘गुट बोक्ने मान्छेसँग लोकतान्त्रिक संस्कारसमेत हुँदैन ।’ पार्टीका नेतामाथि बदलाको भावना राख्नाले ओली सकिन लागेको उनले बताए ।

ओलीलाई प्रधानमन्त्रीमा आफूले नै सिफारिस गरेको भन्दै नेता नेपालले अहिले पदमा पुगेपछि गैरकानुनी काम गर्न थालेको आरोप लगाए । प्रतिनिधिसभा विघटन गरी असंवैधानिक कदम चाल्ने कुनै अधिकार प्रधानमन्त्रीलाई नभएको नेपालले बताए । लामो समयदेखि आफू कम्युनिस्ट पार्टी बचाउन लागिपरे पनि ओलीले पार्टीको कुनै नियम नमान्ने गरेको उनले आरोप लगाए । ‘ओली सबै ठाउँमा अल्पमतमा छन्, पदमा नपुगुन्जेल प्रचण्डको बुई चढे, अहिले प्रचण्डलाई लात्तीले हाने,’ उनले भने ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य शक्तिबहादुर बस्नेतले प्रधानमन्त्री ओलीले संविधान मिचेर गलत कदम उठाएको आरोप लगाए । ओलीले सडकमा जथाभावी बोलेका कुरालाई औपचारिक रुपमा निर्णय गर्न पार्टीले सुरु गरे पनि असहयोग भएको भ्रम ओलीलाई परेको उनले बताए ।

प्रकाशित समय २१:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु