गृहपृष्ठ महासंघको पुँजीबजार फोरम विस्तार

महासंघको पुँजीबजार फोरम विस्तार

पुँजीबजारको विकासमा योगदान दिन फोरम गठन- अध्यक्ष गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठन भएको पुँजीबजार फोरम विस्तार भएको छ । पुँजीबजारको विकास र विस्तारका लागि क्रियाशील भई काम गर्ने, पुँजीबजारलाई नियमन गर्ने ऐन नियमको प्रभावकारी कार्यान्वयन र ऐन नियमलाई समयसापेक्ष सुधार गर्न सुझाव तयार गर्ने प्रमुख कार्यक्षेत्रका साथ महासंघमा पुँजीबजार फोरम पहिलो पटक गठन भएको हो ।

नवगठित फोरमको सह-सभापतिमा महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य रमशरण थपलिया चुनिएका छन् । फोरमका सदस्यहरूमा महासंघको पूर्वकार्यकारिणी समिति सदस्य निर्माणकुमार श्रेष्ठ, नेपाल मर्चेन्ट बैँकर्स एसोसिएसनका अध्यक्ष मेखबहादुर थापा, सेक्योर्ड सेकुरिटिज लिमिटेडका अध्यक्ष सन्तोष मैनाली, क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रालिका अध्यक्ष प्रियराज रेग्मी, मार्केट पण्डित क्यापिटल एन्ड मर्चेन्ड बैँकिङ लिमिटेडका सञ्चालक विष्णुप्रसाद बस्याल, ओरल एडभरटाइजिङ एजेन्सीका प्रबन्ध निर्देशक राजन लम्साल र ग्रिन हिल सिटी प्रालिका प्रबन्धक ज्योति दाहाल छन् ।

एनआरएन इनफ्रास्टक्चर लिमिटेडका कार्यकारी अधिकृत उषा खतिवडा र अनलाइन सेक्युरिटिज प्रालिका प्रबन्ध निर्देशक अनन्तकुमार पौडेल समितिको आमन्त्रित सदस्य चुनिएका छन् । फोरमको सल्लाहकारहरूमा सिद्धार्थ क्यापिटलका कार्यकारी अधिकृत ध्रुव तिमल्सिना र पुँजीबजारका परामर्शदाता कुमारकेशर विष्ट छन् ।

समितिमा चुनिएका उद्यमी व्यवसायीलाई महासंघका तर्फबाट औपचारिक पत्र हस्तान्तरण गर्दै महासंघका अध्यक्ष शेखर गोल्छाले पुँजीबजारलाई स्थायी र भरभर्दाे बनाउन नीतिगत सुधार, संस्थागत व्यवस्था र स्वस्थ अभ्यासको प्रवर्धनमा फोरममार्फत महासंघले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले नेपालको पुँजीबजारको विकासमा महासंघको तर्फबाट पनि योगदान दिन सकियोस् भनेर पुँजीबजार फोरम गठनमा विशेष जोड दिइएको बताए ।

कार्यक्रममा महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ र रोजगारदाता परिषदका सभापति एवं पदेन उपाध्यक्ष रामचन्द्र संघाईले पुँजीबजारका विषयमा जनचेतना वृद्धि र जानकारीमूलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित पक्षसँग समन्वय गर्ने कार्यमा फोरम सक्रिय रूपमा लाग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु